Logo
१८ बैशाख २०८१, मंगलबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाली घटना : शनिवारदेखि हराइरहेका हबल्दारको मोहना नदीमै शव भेटियो, हत्यारा छिटै सार्वजनिक गर्ने

सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा शनिवार रातिदेखि हराइरहेका हबल्दार रामबहादुर साउदको मोहना नदीमै आज शव भेटिएको छ ।

शनिवार रातिदेखि हराइरहेका नेपाल प्रहरीका असई तथा कैलालीको अस्थायी प्रहरी बिट जगेडाका इन्चार्ज गोविन्द विकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो ।

उनीसँगै हराइरहेका हबल्दारको शव पनि प्रहरीले आज मङ्गलवार फेला पारेको हो ।जवान साउदको शव मोहना नदीमै भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

उनले भने ‘ हराइरहेका प्रहरी जवानको पनि मोहना नदीमै शव भेटियो भन्ने खबर आएको छ, शव निकाल्ने क्रम छ, हत्यारा को हो भनेर अहिले भन्न सकिने अवस्था छैन, तर छिट्टै सार्वजनिक गर्छौँ ।’

वरिष्ठ उपरीक्षकका अनुसार प्रहरीले अनुसन्धानका क्रममा १३ जनलाई नियन्त्रणमा लिएको छ ।प्रहरी घटनाको अनुसन्धान नजिक पुगेको बताउँदै उनले हत्यारा पनि छिटै सार्वजनिक गरिने बताए ।

शनिवार राति मोटरसाइकल गस्तीमा गएका वेला प्रहरी जवान साउद र असई विकमाथि सामुहिक आक्रमण भएको प्रहरीको अनुमान रहेको छ ।

अनुसन्धानका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको टोली पनि परिचालन भएको थियो ।उक्त क्षेत्र तस्कर समूहको बिगबिगी रहेकाले विकलाई तस्करको कडाइ गरेकै कारण हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्