Logo
१८ बैशाख २०८१, मंगलबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना सम्बन्धी ८७ देशमा २५ भाषामा गलत जानकारी फैलाइँदा सयौँको मृत्यु : अध्ययन

८७ देशमा २५ विभिन्न भाषामा कोरोना भाइरस सम्बन्धी गलत जानकारी र अफवाहहरु फैलाएको कारणले मृत्यु लगायत थुपै ज्यान जोखिममा परेको नयाँ अमेरिकन अध्ययनले देखाएको छ ।

‘अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिन’ मा सोमबार प्रकाशित रिसर्चमा कोभिड-१९ सम्बन्धी, सामाजिक संजाल लगायत विभिन्न वेबसाइटहरुमा पोस्ट गरिएका गलत जानकारी र हल्लाले पार्ने प्रभावबारे गहिरो अध्ययन गरिएको थियो ।

यस्तोमा अध्ययनकर्ताहरुले २५ भिन्दाभिन्दै भाषामा ८७ वटा मुलुकमा फैलाइएको २,३११ वटा गलत सूचना र जानकारीका कारण सयौँको मृत्यु पनि भइसकेको पत्ता लगाएका हुन् ।

यसका लागि जापान, बांग्लादेश, अष्ट्रेलिया, थाइल्यान्ड लगायत विभिन्न देशका अनुसन्धानकर्ताहरुले त्यसता अफवाहहरुको पहिचान गरि सहि भए नभएको प्रमाणित गर्न मद्दत गरेका हुन् ।

जस्तै यसमा अण्डामा कोरोना भाइरस मिसाइएको हुन्छ भन्ने जस्ता अफवाहदेखि ब्लिच लगायत केमिकल खानुले भाइरस मार्छ भन्ने सम्मका खतरनाक अफवाहहरु रहेका थिए ।

त्यस्तै सबै रोगहरु चीनबाटै आएका हुन्छन् र कोरोना भाइरस जैविक हतियार हो भन्ने किसिमका अपुष्ट खबरहरु पनि व्यापक रहेको पाइएको हो ।

यसमा अधिकांश गलत सूचनाहरु भारत, अमेरिका, चीन, स्पेन, इन्डोनेशिया र ब्राजिलबाट रहेको पनि पत्ता लागेको छ । अध्ययनपछि २४ प्रतिशत गलत सूचना कोभिडबाट हुने मृत्यु र संक्रमणसँग सम्बन्धित रहेको अनि २१ प्रतिशत यसको नियन्त्रणका प्रयास र १९ प्रतिशत अफवाह यसको उपचार सम्बन्धी रहेको पाइएको छ ।

अध्ययनका अनुसार यस्ता गलत जानकारीका कारण धेरै मानिसहरुको ज्यान जोखिममा परेको र मृत्यु भएको घटना पनि प्रशस्तै फेला परेको हो ।

हालसम्म गलत जानकारीहरुको पछि लागेर ८०० मानिसको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढी अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेका हुन् ।

रिपोर्टमा लेखिएको छ, “सबै मानिसहरु होहल्लाको पछि लाग्न थालेमा भने बिस्तारै समाजले त्यसलाई मान्यता दिन सुरु गर्छ जसले वास्तवमै भयानक परिणम निम्त्याउन सक्छ ।

जस्तै पछिल्लो समय विश्वव्यापी रुपमै उच्च मात्रामा अल्कोहल भएको पदार्थ सेवन गर्दा शरीर संक्रमणमुक्त हुन्छ र भाइरस मर्छ भन्ने गलत हल्ला व्याप्त भएको देखिन्छ । ”

त्यस्तै मिथानोल लगायत केमिकल सेवन गर्दा ६० जनाले पूर्ण रुपमा आँखाको ज्योति गुमाएको पनि यसमा पत्ता लागेको हो । यसकारण पनि सामाजिक संजाल वा कुनैपनि साइटमा बिना आधिकारिक श्रोत पोस्ट गरिएका अपुष्ट खबरहरु सजिलै विश्वास नगर्न सुझाव दिइएको छ । सीएनएन

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्