Logo
१८ बैशाख २०८१, मंगलबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीको एउटै पालिकामा थपिए १६ कोरोना संक्रमित, पर्सामा ८ जना, सबै भारतबाट आएकाहरु

प्रदेश २ स्थित सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिलासमेत छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच सोही प्रदेशको पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को-ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहका अनुसार १५ दिन अघि उनीहरु भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए ।

इनर्वा नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखिएको थियो ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्