Logo
१७ बैशाख २०८१, सोमबार
(April 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दम्पती हत्या अनुसन्धान गर्न सीआईबीको टोली पर्वत जाँदै

पवर्तको जलजला गाउँपालिका-२ मल्लाजमा भएको दम्पती हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली जाने भएको छ ।

१९ चैतमा घरमै सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी भोलिपल्ट बिहान २० चैतमा मृत फेला परेका थिए ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेजस्तो देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर, एक साता बितिसक्दा समेत जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले कुनै क्लु फेला नपरोपछि सीआईबीको टोली पठाउन लागिएको हो ।

सीआईबीको टोली पठाउनका लागि प्रहरी महानिरीक्षकबाट पत्र समेत सीआईबी पुगिसेकको छ । मंगलबार नै सीआईबीले पवर्तमा टोली पठाउन लागेको थियो । तर, हत्या अनुसनधानका लागि खटिन लागेका सीआईबीका सई बिरामी परेपछि टोली पठाउन केही ढिलो भएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

उनको अनुसार सम्भवतः आज या भोलिसम्ममा टोली पर्वत पुग्ने छ । इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोली सीआईबीले पर्वत पठाउन लागेको छ ।

दम्पती हत्या भएपछि यसअघि गण्डकी प्रदेशका डीआईजी विकासराज खनालको टोली २० चैतमा पोखराबाट घटनास्थल गएको थियो । जिसी दम्पतीको घर एकान्त ठाउँमा भएकाले वरपरका कसैले पनि केही थाहा नपाएको बताइएको छ ।

अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको थियो ।

सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन ।

जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो । छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । हत्यापछि कमलाले लगाएको सुनका गरगहाना समेत लुटेर लगेको प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति: Apr 10, 2024

प्रतिक्रिया दिनुहोस्