Logo
१७ बैशाख २०८१, सोमबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगीमा संलग्न गिरोहले ११ जना भारतीयलाई काठमाडौँमा ल्याएर ‘बन्धक’

भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई काठमाडौँमा ल्याएर ठगीमा संलग्न गिरोहले ‘बन्धक’ बनाएका छन् ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा लिएर आरोपीहरुले पीडितलाई थुनामा राखेर कुटपिट र यातना दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

फागुन २ मा रातोपुलबाट ११ जना पीडितलाई उद्धार गरेर ७ जना भारतीय र २ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले  बताए ।

आरोपीहरुले भारतीय नागरिकलाई ‘अमेरिका सपना’ देखाएर काठमाडौँ ल्याएका हुन् ।

पीडितहरुलाई दुबई पुर्याएर र नयाँ दिल्लीबाट सिधै काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

काठमाडौँमा ‘बन्धक’ बनाएपछि भारतमा भिडियो कुराकानी गर्न लगाएर रकम असुलेका हुन् ।

भिडियोमार्फत आफन्तलाई कुरा गराउँदा आरोपीहरुले पीडितलाई ‘सुरक्षित रुपमा मेक्सिको आइपुगेँ अब, अमेरिका पुग्दैछु’ भन्न बाध्य बनाएका थिए ।

मेक्सिकोको भाषा, समय र संस्कृतिसँग मिल्ने कृतिम वातावरण रातोपुलस्थित बन्धक बनाएको घरमा सिर्जना गरेर भिडियो कलमार्फत आफन्तलाई देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।

एसएसपी खत्री भन्छन्– ‘भिडियोमार्फत कुराकानी गराएपछि आफन्तसँग भारतीय रुपैयाँ ४० लाखसम्म असुल गरेको अनुसन्धानबाट देखिन्छ ।’

पीडितलाई दबाव र यातना दिएर ‘म सुरक्षित छु’ भन्न लगाएपछि गिरोहले ४० लाख भारतीय रुपैयाँ एजेन्टको खातामा डिपोजिट गर्न लगाउँथे ।

भारतमा आफन्तलाई विश्वासमा पार्न आरोपीहरुले क्यानडाको समय देखाउने घडीको फोटो र भिडियो देखाउने गरेका हुन् ।

‘अमेरिका पठाउँछौ’ भनेर दुबई र कतार पुर्याएर आरोपीहरुले ‘अर्को ट्रान्जिट’ भन्दै नेपालमा ल्याउने गरेका थिए ।

अनुसन्धानमा संलग्न डीएसपी हरि खतिवडा भन्छन्–‘केही पीडितलाई सुरुमै काठमाडौँ ल्याएको पनि देखिन्छ ।’

रातोपुलमा बन्धक बनाइएकामा ३ जना हरियाणा र ८ जना पञ्जाबका छन् । पीडितहरुमध्ये केहीलाई गिरोहका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुक गरेको होटलमा पठाउने गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्– ‘केहीलाई सिधै रातोपुलस्थित घरमा लगेर बन्धक बनाएको देखिन्छ ।’

रातोपुलमा लगेर पीडितहरुलाई भारतबाट ‘अनिवार्य बोक्नु’ भनेर पठाइएको ३ हजार अमेरिकी डलर र पीडितसँग भएको कागजात गिरोहका सदस्यले जफत गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

बोर्डिङ्ग पास र स्ट्याम्प नक्कली

आरोपीहरुले भारतमा बस्ने पीडितका आफन्तलाई विश्वास दिलाउन

मेक्सिको सम्म जान ‘ट्रान्जिट’ मा पर्ने देशहरुको अध्यागमन कार्यालयको अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको फेला परेको छ ।

‘नक्कली रुपमा खडा गरिएका ट्रान्जिट रुटहरुमा पर्ने विभिन्न देशका अराइभल र डिपार्टचरको नक्कली स्ट्याम्प बनाएर पासपोर्टमा छाप लगाएको भेटिएको छ’

प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्–‘एयरलाइन्सको बोर्डिङ पास र टिकट पनि नक्कली बनाएर भारतमा आफन्तलाई पठाउने गरेको देखिन्छ ।’

अध्यागमनको नक्कली स्ट्याम्प र विमान कम्पनीको बोर्डिङ पास मेसेज गरेर पठाएपछि आरोपीहरुले पीडितलाई आफन्तहरुसँग पैसा डिपोजिट गराउन दबाव दिने गरेका हुन् ।

एजेन्ट समूहले शारीरिक मानसिक यातना दिएर र भारतमा रहेका आफन्तहरुको ज्यान सम्म लिने धम्की दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

एसएसपी खत्री भन्छन्– ‘घरभित्र राखेर बाहिर आउन नदिएर पीडितहरुलाई कष्टकर जीवन बिताउन बाध्य बनाएको देखिन्छ ।’

आरोपीहरुविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसापसार बिरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्