Logo
६ जेष्ठ २०८१, आईतबार
(February 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम पूर्वानुमान महाशाखा : आज देशभर बदली, भोलि घाम लाग्छ

पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।

सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका एक–दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको बरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

उनका अनुसार अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा कम बादल लागेको छ । बादल लागेकाले अधिकतम तापक्रममा गिरावट आउने सम्भावना पनि छ ।

अधिकतम तापक्रम घट्दा जाडो महसुस हुने मौसमविद पौडेलले बताए ।

आज बिहान काठमाडौंको अधिकतम तापक्रम २२।७ डिग्री सेल्सियस छ । आज दिउँसो अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

‘भोलि घाम लाग्छ’

आज रातिबाट आकाश खुल्दै जाने र पश्चिमी भूभागमा भोलि घाम पनि लाग्ने वरिष्ठ मौसमविद पौडेलले बताए । तर बागमती प्रदेशदेखि पूर्वतर्फ भने आज साँझसम्म पनि बादल कायमै रहने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

आज राति भने कोशी र मधेश प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Feb 14, 2024

प्रतिक्रिया दिनुहोस्