Logo
१७ बैशाख २०८१, सोमबार
(February 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवादयात्रा स्थगित

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो ।

यसको औपचारिक निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो ।

त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो । तर पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए ।

संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित कार्यक्रममा सो जानकारी गराएका हुन् ।

फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु गर्ने थापाले बताए । महामन्त्री थापाले माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए ।

बुढाथोकीको निधन भएपछि कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने थापाले बताए ।

पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: Feb 6, 2024

प्रतिक्रिया दिनुहोस्