Logo
१७ बैशाख २०८१, सोमबार
(February 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालिका प्रमुखलाई प्रधानमन्त्री जस्तै बलियो बनाउने गरी ऐन संशोधनको गृहकार्य

संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न तयारी सुरु गरेको छ । स्थानीय तहका प्रमुखलाई संघका प्रधानमन्त्रीले जसरी काम गर्न सक्ने वातावरण बनाउन ऐनले विभिन्न व्यवस्था गर्न तयारी गरिरहेको छ ।

संशोधनको अवधारणामा मूलरुपमा पालिका प्रमुख (अध्यक्ष/मेयर)को भूमिका र अधिकारलाई थप स्पष्ट पार्ने योजना संघीय सरकारले बनाएको छ ।

करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय छुटेका विषयहरुलाई समेट्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनमा संशोधनको लागि सुझाव लिन थालेको हो ।

हालको ऐनका कतिपय व्यवस्थाहरु स्पष्ट नहुँदा केही स्थानीय तहमा अल्पमतमा परेका मेयरलाई स्थानीय तह चलाउन समस्या पर्ने गरेको छ ।

चरम राजनीतिकरणका कारण कतिपय स्थानीय तहका मेयरहरु नीति तथा कार्यक्रम र बजेट समेत पारित गर्न नसकेर निरीह बन्ने गरेका छन् । अहिले यो समस्या धेरै मधेश प्रदेशका पालिकामा देखिएको छ ।

मन्त्रालयका सहसचिव सुमन दाहाल स्थानीय सरकारलाई बलियो, अझ प्रभावशाली ढंगले काम गर्न स्पष्ट रुपमा कार्यक्षेत्र र अधिकार दिन ऐनको संशोधनबारे छलफल थालिएको बताउँछन् ।

अहिले प्रारम्भिक रुपमा अवधारणा मात्रै बनेको भन्दै उनले सबै सरोकारवाला पक्षसँग छलफल र सुझाव लिएर ऐन संशोधनको प्रक्रियामा अघि बढ्ने बताए ।

कार्यसम्पादनमा आधारित अनुदान
स्थानीय तहरुले पाउने अनुदानलाई कार्यसम्पादनमा आधारित बनाउने अवधारणा पनि छ । त्यसैअनुसार ऐनमा संघ सरकारले दिने अनुदान सही ठाउँमा सही तरिकाले उपयोग हुने सुनिश्चित गर्ने गरी व्यवस्था गर्ने तयारी छ ।

राम्रो र धेरै काम गर्नेलाई अनुदान पनि धेरै दिने अवधारणाबाट ऐनममा व्यवस्थाहरु प्रस्ताव गरिँदैछ । स्थानीय तहलाई राजस्वको दर र दायराका सन्दर्भमा पनि ऐनबाट स्पष्ट व्यवस्था गर्ने योजना छ ।

ठूला कर्पोरेट हाउसका बहाल करमा संघ सरकारसँग देखिएको विवादसहित अन्य कर विवादहरु समाधानको बाटो पनि निकाल्ने तयारी छ ।

 

प्रकाशित मिति: Feb 4, 2024

प्रतिक्रिया दिनुहोस्