Logo
२४ बैशाख २०८१, सोमबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाको माग पुरा : त्रिभुवन विश्वविद्यालयले अब अंग्रेजीसँगै नेपालीमा पनि प्रश्नपत्र छाप्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ।उनका अनुसार सबै तहको सबै विषयको प्रश्न नेपालीमा मात्रै भने छापिने छैन।

अहिले स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर्स) मा अंग्रेजी माध्यममा मात्रै प्रश्न सोधिँदै आएको छ। जसकारण जानेका विषयवस्तु पनि प्रश्न नबुझेकाले लेख्न नसकेकाले सबै विषयको नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने माग सांसदहरूले पनि गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपालीमा पढाइ हुने तरअंग्रेजीमा मात्रै प्रश्न सोधिएकाले धेरै विद्यार्थीहरू फेल भएको भन्दै नेपालीमा पनि प्रश्नपत्र छाप्न पटक-पटक माग गर्दै आएकी छिन्।

गत असार ५ गते भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले तत्काल नेपालीमा पनि प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग गरेकी थिइन्।

यसअघि नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने मागसहित सर्वोच्च अदालतमा ६ वर्षअघि अर्थात् २०७४ सालमै मुद्दा दायर भइसकेको छ।

हालसम्म फैसला भने हुन सकेको छैन। अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै २०७४ सालमै रिट दायर गरेका थिए।

तर पेशी तोक्दै उक्त मुद्दा पछि धकेलिएको उनले बताए। जुन विषयमा नेपालीमा पढ्न र लेख्न पाउँछ, त्यो विषयमा नेपाली/अंग्रेजी दुवैमा प्रश्न सोधिनुपर्ने माग आफ्नो रहेको उनले बताए।

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्