Logo
७ बैशाख २०८१, शुक्रबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरूको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरूको समस्या समाधानको पहल गर्ने बताएका हुन् ।

‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईँहरूको समस्याका बारेमा जानकारी गराउँछु,’ उनले भने ।

लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरूले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

१२ दिन हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटरव्याज पीडितहरू रातभर सडकमै बस्न बाध्य भएका छन् । सोमबार काठमाडौँ महानगरले खुलामञ्चको गेटमा ताला लगाएपछि उनीहरूले सडक पेटीमै रात बिताएका हुन् ।

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्