Logo
१७ बैशाख २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीले भने : जलवायु परिवर्तनको असर न्यूनिकरणसम्बन्धी कोषमा नेपालको पहुँच कम भयो

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनको असर न्यूनिकरणसम्बन्धी कोषमा नेपालको पहुँच कम भएको बताएका छन् ।

विश्व बैंकका प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न खोलिएका विभिन्न कोषमा नेपालको पहुँच कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।

शर्माले जनवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरुले वार्षिक क्षतिपूर्ति वापत पाउनुपर्ने सम्बन्धी कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनिकरणका लागि स्थापना गरिएका कोषहरुमा नेपालको पर्याप्त पहुँच नरहेको विषयमा समेत विश्व बैंकको ध्यानाकर्षण गराएका हुन् ।

जारी कोप २६ मा यस विषयमा समेत विश्व बैंकले आवाज उठाइदेओस् भन्ने नेपालको चाहना रहेको उनले बताए । जलवायु परिवर्तनका असरविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा प्रकट गरे ।

बुधबार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको थियो ।

सम्बोधनका क्रममा मन्त्री शर्माले विश्व बैंकको सहयोगमा सञ्चालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६)मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।

उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा जलवायु परिवर्तन सम्बन्धी नेपालको चासोलाई महत्वका साथ प्रस्तुत गर्न आफूहरु सकारात्मक रहेको बताए ।

भर्चुअल बैठकमा दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाललाई प्राप्त सहयोग तथा सुविधा पूरा उपयोग गर्न कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गर्दै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको आकलन गर्ने, जनताको जीवन रक्षा गर्ने, खाद्यान्न आपूर्ति गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माण गर्ने लगायतका विषयमा गम्भीरताका साथ काममा जुटिरहेको जानकारी गराए ।

 

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्