आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोली देशभरीका ६ महिलनादेखि ५ मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यस वर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारी अनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ ।
सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका) को औषधि खुवाइने छ ।
पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खाने छन् ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।