Logo
२३ बैशाख २०८१, आईतबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानबाट उद्धार गरिएका सबै नागरिकलाई पोलियो खोप लगाइने

सरकारले अफगानिस्तानबाट उद्धार गरिएका सबै नागरिकलाई पोलियो खोप लगाइने भएको छ  ।

अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक भएकाले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको हो ।

अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारबाट पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको गौतमले बताए ।

‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक हो । त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको हो’ डा। गौतमले भने ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुईजनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।

यसअघि अफगानिस्तानबाट फर्किएकाहरुलाई भने उनीहरुलाई पायक पर्ने स्वास्थ्य संस्थामा पोलियो खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइसकेको महाशाखा प्रमुख गौतमले बताए ।

विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् ।

गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्