Logo
१७ बैशाख २०८१, सोमबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने, यी नेता मन्त्रीको सूचीमा !

जसपाका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने भएको छ । यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको स्रोतले जनाएको छ ।

शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने स्रोतले जनाएको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रले मन्त्रालय भागबण्डा टुंगिनसकेको बताए पनि जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल गरिरहेको छ ।

अहिले तयार गरिएको सूची ९५ प्रतिशत ‘फाइनल’ जस्तै रहेको एक नेताले बताए । अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् ।

राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट आफूतिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका हुन् । श्रेष्‍ठको नाम यसअघि पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा पनि अन्तिम समयमा काटिएको थियो ।

त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेका छन् ।

राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर ठाकुरलाई छोडेर आफूसँग आएकाले कसलाई बनाउने भन्नेमा यादव अप्ठेरोमा छन् ।

जसपामा ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा खुलेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट इस्तियाक राईरअमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूलाई बताएका छन् ।

क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश-१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । पार्टीको मुख्य पकड प्रदेश-२ रहेकाले त्यहाँबाट धेरै मन्त्री बन्नु स्वाभाविक भए पनि अन्य प्रदेशबाट पनि प्रतिनिधित्वका आधारमा मन्त्री बनाइने यादवले निकटस्थहरूलाई बताउने गरेका छन् ।

जसपाको गण्डकी प्रदेशमा डा.बाबुराम भट्टराई भन्दा अन्य संघीय सांसद छैनन् ।तर संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आफू निकटका संघीय सांसद् नभएकाले आफ्नी पत्नी हिसिला यमी र कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउन दबाब दिइरहेका छन् ।

त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि जसपाका संघीय सांसद छैनन् । कैलालीबाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कारागारमा छन् ।

सांसद र मन्त्री बन्ने लाइनमा रहेका प्रदीप यादव मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै मन्त्रीको नाम तय हुने बताए ।

नेता राययादवले आफूहरूले सरकारमा जाने तयारीमा रहेको बताए ।पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको थियो ।

तीन नेताहरूबीच निरन्तर औपचारिक र अनौपचारिक बैठक भइरहेका स्रोतले बतायो ।डा. भट्टराईले सांसद नभएका नेतालाई मन्त्री बनाउन पर्ने दबाब दिए पनि प्रधानमन्त्री देउवाले सांसदलाई मात्र सिफारिस गर्न भनेकाले नेताहरू अफ्टेरोमा परेको स्रोतले बताएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिने तर केही मन्त्री थप्ने योजनामा प्रधानमन्त्री छन् ।

 

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्