Logo
१८ बैशाख २०८१, मंगलबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो अध्यक्ष बन्न ओलीेले प्रस्ताव गरेसँगै नेपाल २२ नेतासँग छलफलमा !

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आएको भन्दै उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा आफू निकट नेताहरुसँग सुझाव मागेका छन्।

नेता नेपालले बुधबार आफू निकट २२ सांसदलाई बोलाएर अध्यक्ष ओलीबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको बताउँदै स्वीकार गर्ने वा नगर्ने विषयमा सुझाव मागेका हुन्।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दा पक्षमा मतदान गर्ने २२ जना सांसदसँग ओलीबाट आएको दोस्रो अध्यक्षको प्रस्तावबारे सुझाव मागेका हुन्।

नेपालले सुझाव मागेकामध्ये अधिकांश सांसदले दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न नहुने पक्षमा आफ्ना धारणा राखेका छन्।

बैठकमा सहभागी सांसद मेटमणि चौधरीले ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्ताव पनि कपटपूर्ण भएको भनेर सांसदहरुले सुझाव दिएको बताए। चौधरीले भने, ‘हामीले दोस्रो अध्यक्ष अस्वीकार गर्न सुझाएका छौं, ओलीले पदलोलुप देखाउन उक्त प्रस्ताव गरेको हाम्रो विश्लेषण रह्ययो।’

संसदीय दलमा बहुमत पुर्‍याउन सके वा ओलीले प्रस्ताव गरेमा संसदीय दलको नेता बन्न सुझाव दिइएको चौधरीले बताए। उनले भने, ‘संसदीय दल र पार्टी केन्द्रमा बहुमत पुर्‍याउन सकिन्छ भने प्रयास गर्ने। नभए, अर्को कोर्षमा प्रवेश गर्नुपर्ने आवाज पनि उठेको छ।’

यसैगरी गठबन्धनले सरकारमा सहभागी प्रस्ताव गरेको विषयमा पनि छलफल भएको थियो। तर, केही समय पर्खेर हेर्न सांसदहरुले सुझाव दिएका छन्।

चौधरीले भने, ‘सरकारमा के गर्ने भनेर सोध्नुभएको थियो। केही समय पर्खिने र पार्टी एकताको विषयमा सार्थक परिणाम ननिस्किए नियुक्तिदेखि लिएर सबै ठाउँमा हाम्रो उपस्थिति जनाउने भनेर सुझाव दिएका छौं।’

नेता नेपालको भने ओलीसँग मिल्न नसकिने भएकाले सरकारमा सहभागी हुनुपर्ने जोड रहेको चौधरीले बताए।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्