Logo
१७ बैशाख २०८१, सोमबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा सरकारको सूचीमा प्रचण्डसँगै माधव नेपाल पनि असुरक्षित ! सुरक्षा संख्यामा भारी वृद्धि

केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले पूर्व पदाधिकारीहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी व्यापक कटौती गरेपछि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्व पदाधिकारीहरुको सुरक्षा फेरी एकएक संख्या बढाउन थालेको छ ।

देउवाले सरकार सम्हालेपछि उनको ठाडो निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँडले सुरक्षा निकायहरुलाई उर्दी दिर्दै पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल असुरक्षित रहेको भन्दै उनीहरुको सुरक्षार्थ सुरक्षाकर्मीहरु बढाएका हुन ।

गृह मन्त्रालयले आफ्नो मापदण्ड लत्याउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिने जनशक्ति बढोत्तरीसँगै अर्का पूर्वप्रधानमन्त्रीको सुरक्षा संख्या समेत थपेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा प्रहरी थपिएको उच्च प्रहरी अधिकारीले बताए । नेपालको सुरक्षामा थप १० जना प्रहरी खटाइएको ती प्रहरी अधिकारीले बताए ।

प्रमुख प्रतिपक्ष दल एमालेभित्रको विवादका कारण नेपाल समूहका २२ सांसदले सत्ता गठबन्धनको पक्षमा संसदमा मत हालेका थिए । पार्टीभित्र आपसी दुश्मनी बढ्दै गएकाले पूर्वप्रधानमन्त्री नेपालका लागि सुरक्षाकर्मीको संख्या थपिएको हो ।

राजनीतिक घटनाक्रममा आएको फेरबदलसँगै अन्य पूर्वपदाधिकारीको सुरक्षामा खटिने संख्या थप्न लागिएको पनि ती प्रहरीले दाबी गरे । ‘प्रचण्ड र नेपालमात्र होइन, अन्य केही नेताको पनि सुरक्षा खतरा बढेको छ,’ उनले भने, ‘यसअघिको निर्णयमा परिमार्जनको तयारी भइरहेको छ ।’

तर, गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने प्रचण्डको मात्रै सुरक्षाकर्मी थपिएको दाबी गरे । पूर्वपदाधिकारीको सेवा सुविधासम्बन्धी मापदण्ड विपरीत नयाँ सरकारले सुरक्षाकर्मी थपेको विषय विवादित बनेको छ । तीनवटै सुरक्षा निकायका प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिले पूर्वपदाधिकारीको ‘सुरक्षा थ्रेट’ विश्लेषण गरेर सुरक्षाकर्मीको संख्या तय गर्छ ।

तर, सुरक्षा समितिको ‘थ्रेट’ मूल्यांकनविनै गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रचण्ड र नेपालको सुरक्षाकर्मी थपिएको हो । यद्यपि गृह प्रवक्ता दाहालले भने समितिको निर्णयानुसार नै थपिएको दाबी गरे । ‘बैठकको मिति, को-को उपस्थित थिए भन्ने बताउने कुरा भएन । तर, मूल्यांकन भएरै थपिएको हो,’ उनले भने ।

गृह आफैँले तय गरेको मापदण्ड उल्लंघन भएको विषयलाई भने प्रवक्ता दाहालले ‘सामान्य’ भनी टिप्पणी गरे । ‘सुरक्षाकर्मीको संख्या सधैँ एउटै हुँदैन,’ उनले भने, ‘थपघट हुन्छ । सुरक्षामा यस्तो भइहाल्छ नि ।’

केपी शर्मा ओली सरकारको पालामा अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि बनेको थियो । पूर्वपदाधिकारीले पाउने सुरक्षाकर्मीको संख्या कार्यविधिले तोकिदिएपछि मापदण्डभन्दा बढी भएका सुरक्षाकर्मी गत फागुनमा फिर्ता गरिएको थियो ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्