Logo
२६ बैशाख २०८१, बुधबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले गर्यो नेपालसहित एसिया प्रशान्त क्षेत्रका ३० देशसँग बीआरआईबारे छलफल

चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका ३० देशसँग बीआरआईबारे छलफल गरेको छ ।

चीनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरुसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआईं) मा केन्द्रित रहेर एक उच्चस्तरीय सम्मेलन आयोजना गरेको हो ।

विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल गरेको हो ।

नेपालको तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको सहभागिता थियो । सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले कोरोना महामारीलाई पराजित गर्नका लागि विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक पर्ने बताए ।

संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु पनि सो सम्मेलनमा सहभागी थिए । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले एक लिखित सन्देश पठाएका थिए । सो कार्यक्रमको अध्यक्षता चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत नजिकको सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए । उनले मुलुकहरुको बीचको सहकार्य र विकासलाई नयाँ गति दिनुपर्ने उल्लेख गर्दै चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आफ्नो लिखित सन्देशमा सिले भने, ‘गत ८ वर्षमा १४० मुलुकले बीआरआई सहकार्य गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् र बढीभन्दा बढी सहकार्य गर्न इच्छुक साझेदार आएका छन् ।’

चिनियाँ राष्ट्रपतिले वृहत परामर्श, संयुक्त योगदान, साझा फाइदा, खुलापन, हरित विकास र दीर्घकालीन विकास बिआरआईका मुख्य सिद्धान्त रहेको बताए ।

उनले चीन विकासको नयाँ चरणमा पुगेको उल्लेख गर्दै उनले विकासको नयाँ अवधारणालाई अगाडि बढाएको र यसले साझेदार मुलुकलाई बजार तथा लगानी वृद्धिमा थप अवसरहरु प्रदान गर्ने बताए ।

अहिले १४० मुलुक र क्षेत्र अनि ३२ अन्तर्राष्ट्रिय संस्थाहरुले बीआरआईमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेका छन् । जी-७ को एक सदस्य इटलीले पनि बीआरआईमा सहकार्य गर्ने भीन चीनसँग सम्झौता गरेको छ ।

सन् २०१३ मा परियोजना सन्चालन भएयता बीआरआई मार्फत चीनले अहिले विभिन्न मुलुक र क्षेत्रमा १३६ विलियन अमेरिकी डलर लगानी शुरु गरिसकेको छ ।

पछिल्लो दुई वर्षयता कोरोना महामारीका कारण बीआरआईका परियोजनाहरु निर्माणमा केही सुस्त छ भने नयाँ सम्झौतामा पनि ढिलाइ भएको छ । चिनियाँ विज्ञहरुले सो परियोजना कार्यान्वयन हुनेमा आशंका रहेको टिप्पणी गरिरहेका छन् ।

पछिल्लो पटक जी–७ मुलुकले बीआरआईलाई काउन्टर गर्न भन्दै बी–३ डब्ल्यू परियोजना अगाडि सारेपछि चिनियाँ विज्ञ र संचारमाध्यममा यस सम्बन्धमा बहस भइरहेको छ ।

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्