Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं २ को नाम र राजधानीको लागि १३ वटा प्रस्ताव दर्ता

प्रदेश नं २ को नाम र राजधानीको लागि प्रदेशसभा सचिवालयमा १३ वटा प्रस्ताव दर्ता भएको छ । नामको लागि ६ र राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

दोश्रो चरणमा प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन वैशाख ३ गतेदेखि ९ गते बिहीबार दिउँसो ३ बजेसम्मको लागि प्रस्ताव आह्वान गरिएको थियो ।

जसमा नामको लागि प्रदेशसभामा आवद्ध दल तथा सांसदहरुबाट मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश नाम दर्ता भएको छ भने राजधानीका लागि जनकपुरधामको पक्षमा ५ र वीरगञ्जको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको सचिवालयले बताएको छ ।

जनता सामाजवादी पार्टीको तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमाले माधव समूहका तर्फबाट सांसद प्रमोद कुमार यादवले जानकी, ओली समूहका तर्फबाट प्रदेश सांसद शारदा देवी थापाले जनक र नेपाली काँग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा, नेपाली काँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नामकरण तोक्न प्रस्ताव दर्ता गराएका छन् ।

काँग्रेस सांसद पार्टीको निर्णय भन्दा बाहिर गएर गरेको मध्य मधेश प्रदेश प्रस्तावको समर्थनमा काँग्रेसकै प्रदेश सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेका छन् ।

त्यस्तै राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएको छ । काँग्रेसकै प्रदेश सांसद साह र जनता समाजवादी पार्टीका प्रदेश सांसद सिंगासन साह कलवारले वीरगञ्जलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढा दल जसपा, प्रतिपक्षी दल एमाले, काँग्रेस र माओवादी लगायत सबै दलले जनकपुरधामलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्