Logo
२६ बैशाख २०८१, बुधबार
(December 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, ‘सरकार सबैलाई सहजरूपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।’

उनले मुलकको आर्थिक क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे ।

‘यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ’, उनले भने । मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि प्रस्ट पारे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायिक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए।

कोभिडकोबिचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दावी गभर्नर अधिकारीको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिए। उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग गर।े

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने वा क्षमता अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताए।

‘त्यसैले बन्द उद्योग व्यवसाय पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको छ’, ढकालले भने।

प्रकाशित मिति: Dec 12, 2020

प्रतिक्रिया दिनुहोस्