Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेचीनगरमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्दै

मेचीनगर नगरपालिका-८ मा रु १३ करोडको लागतमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्ने भएको छ ।

नगरमा उत्पादित फोहोरलाई मोहोरमा रूपान्तरित गर्ने उद्देश्यले सो केन्द्र बनाउन लागिएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए ।

उनका अनुसार सो कामका लागि आउने क्रमागत बजेटमध्ये पहिलो चरणमा सङ्घीय सरकारबाट रु तीन करोड बजेट आइसकेको छ ।

केन्द्र स्थापनाका लागि आदर्श माध्यमिक विद्यालयको छ बिघा जमिन लिइसकिएको र बाँकी चार बिघा सेन्ट्री आधारभूत विद्यालयको लिने तयारी भइरहेको उनले बताए ।

निन्दा खोलाको छेउमा स्थानीयवासीले खेती गरिरहेको विद्यालयको जग्गामा बन्न लागेको केन्द्रका लागि डिपीआर ९विस्तृत आयोजना प्रतिवेदन० समेत तयार गरेर निर्माणका लागि नगरपालिकाले ठेक्का लगाइसकेको छ ।

फोहोर व्यवस्थापन केन्द्रका लागि आवश्यक भौतिक संरचना तयार गर्न रु दुई करोड ७९ लाखमा मेचीनगरमै रहेको शान्ति जेभी उद्देश्य प्रालिलाई ठेक्का दिइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

आगामी मङ्सिर २९ गतेसम्ममा केन्द्रसम्म पुग्ने सडक, कार्यालय भवन, सुरक्षा गार्डको भवन, शौचालय र कम्पाउण्ड वाल निर्माण सक्ने गरी गत असार मसान्तमा नगरपालिका र कम्पनीका बीच सम्झौता भइसकेको जेभीका प्रोप्राइटर नयन बरालले बताए ।

स्थानीयवासीको विरोध

नगरपालिकाले वडा नं ८ मा बन्न लागेको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको विरोधमा वडा नम्बर ८, ३ र ५ तथा बुद्धशान्ति गाउँपालिका-५ का स्थानीयवासीले विरोध जनाएका छन् ।

उनीहरुले नगरपालिकाले मानव स्वास्थ्यलाई नै असर पुग्ने गरी सो केन्द्र निर्माण गर्न लागेको भन्दै मेचीनगर–३ का एनुकुमार भट्टराईको संयोजकत्वमा सङ्घर्ष समिति नै गठन गरेर विरोध जनाएका हुन् ।

समितिले नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख उप्रेतीलाई नजिकै रहेको मानव बस्तीमा असर पुग्ने जनाउँदै नेपालको संविधानले मौलिक हकमा व्यवस्था गरेको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ठाडो उल्लङ्घन भएको भन्दै ज्ञापनपत्र समेत बुझाइसकेको संयोजक भट्टराईले बताए ।

सङ्घर्ष समितिका सदस्यहरू नारायण गिरी, विष्णुलाल गिरी, कमला गिरी, पवन मेचे, रामकान्त चौधरीलगायतले कृषिको उर्वर भुमि रहेको यस क्षेत्रमा कृषि विश्वविद्यालय निर्माण गर्नुको साटो नगरपालिकाले फोहोर व्यवस्थापन गर्न लागेकोमा आपत्ति जनाएका छन् ।

“हामी विकास विरोधी होइनौँ”, संयोजक भट्टराईले भने, “कृषि क्षेत्रको विकासमा नगरपालिकाको स्वागत गर्छौँ तर, मानव स्वास्थ्यलाई नै असर पर्ने गरी यहाँ फोहोर थुपार्न खोजियो भने त्यसको स्थानीयवासीले जहिलै विरोध गर्नेछन् ।”

मानव बस्तीबाट टाढा रहेको र प्रशोधन केन्द्र बनाउन उपयुक्त जग्गा रहेको नगरको सर्वदलीय बैठकले नै ठहर गरेको नगरपालिकाका उपप्रमुख उप्रेतीले बताए । उनले त्यहाँ बन्ने संरचनाका बारेमा ठेक्कासमेत लगाइसकिएको उल्लेख गर्दै स्थानीयवासीको गुनासोलाई सम्बोधन गरिने बताए ।

“स्थानीयवासीको जायज मागको सम्बोधन गर्छौँ”, उनले भने, “किसानको धान बाली हरियाली भएको छ, उनहरुको मेहनत र परिश्रमको लगानी छ । तर नाजायज माग राखेर विकासको विरोध गर्ने सबैको माग सम्बोधन गर्न सकिँदैन ।”

प्रमुख प्रशासकीय अधिकृत खाम्यावाङले सो प्रशोधन केन्द्रले स्थानीयवासीको स्वास्थ्यमा कुनै असर नगर्ने बताए ।

उनले फहोर उठाउँदैे कुहिने र नकुहिने वस्तु छुट्याएर ल्याइने बताए । उनले भने, “यो प्रशोधन केन्द्र मात्र हो । यहाँ कुहिने फोहोर सङ्कलन गरेर प्राङ्गारिक मल बनाइन्छ । नकुहिने वर्गीकरण गरेर निर्यात गरिन्छ ।”

उनले स्थानीयवासीलाई प्रशोधन केन्द्रका बारेमा जानकारी नभएर मात्र विरोध गरेको बताए । केन्द्र स्थापनाका बारेमा स्थानीयवासीलाई बुझाउन बाँकी रहेको उनको भनाइ थियो ।

“यसले उहाँहरुलाई भोलिका दिनमा रोजगारीसँगै विकास सिर्जना गर्छ, यो ठूलो अवसर हो”, उनले भने ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्