Logo
२ जेष्ठ २०८१, बुधबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र अझै रहिरहनेछ : भारतीय सेनाप्रमुख

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।

देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्ता धारणा राखेका हुन् ।

‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ ।

जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ,’ भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको भन्ने विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले आफ्नो यसअघिको भनाइलाई केही सच्याउँदै नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका हुन् ।

यसअघि जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताएका थिए ।

नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको सरकारी थिंकट्यांक मनोहर पारेकर रक्षा अध्ययन तथा विश्लेषण संस्थान (एमपीआईडीएसए) ले गरेको वेबनारमा नरवणेले त्यस्तो भनाइ राखेका थिए ।

नरवणेको उक्त टिप्पणीप्रति नेपाल सरकार र जनस्तरबाट समेत कडा विरोध हुँदै आएको छ । यता भारतमा पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरिएको थियो ।

भारतीय सेना प्रमुख नेपाली सेनाका समेत मानार्थ जनरलसमेत रहने परम्पराका कारण पनि दुई देशबीचको विवादित मुद्दामा नरवणेले अनावश्यक रुपमा टिप्पणी गरेको भन्दै आलोचना भएको थियो ।

भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।

यसबीच नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्