Logo
२६ बैशाख २०८१, बुधबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बढेसँगै नेपालगञ्जलाई ३ दिनका लागि निषेधित क्षेत्र घोषणा

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमित बढ्दोक्रमा रहेको अवस्था प्रदेश नं ५ स्थित बाँकेको नेपालगञ्ज उपमहानगरपालिकालाई आजदेखि ३ दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि सोमबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् ।

नेपालगञ्जमा गएको शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरुले पनि सतर्कता अपनाएका छन् ।

सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उनले जानकारी दिए ।

बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

लकडाउन कडा बनाउनुका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पालिकाहरुले सूचित गरेका छन् ।नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुमा रोक लगाइएको छ ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्