Logo
२६ बैशाख २०८१, बुधबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा कोरोनाको जोखिम हुन नदिन गाउँपालिका सिल, नाकामा कडाई

प्रदेश नं ५ स्थित बाकेको नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम वढेसँगै  उच्च सतर्कता अपनाउँदै गाउँपालिका सिल गर्नुको साथै सिमा नाकामा कडाइ गरेको छ ।

नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ ।

उनका अनुसार सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको छन् ।

प्रजिअ खड्काले भने, “उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।”

उनले कोरोना सङ्क्रमणको जोखिम हुन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् । लकडाउनको ३८ औँ दिन यहाँ सङ्क्रमण देखिएको थियो ।

नेपालगन्ज–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (माज पढाउने व्यक्ति)मा पहिलो पटक सङ्क्रमण पुष्टि भएको हो ।

मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ । सङ्क्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

गत शुक्रबार एक जना र आइतबार १५ जना सङ्क्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो सङ्क्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ ।

नेपालगञ्जमा एकाएक सङ्क्रमितको सङ्ख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ । कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सीमा पूर्णरुपमा सिल गरेको छ ।

नेपालगञ्जसँग जोडिने दक्षिणतर्फको सीमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाइ गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरुपमा रोक लगाएको नगर प्रमुख रावतले जानकारी दिए ।

कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

यस्तै राप्तीसोनारी गाउँपालिकाले नेपालगञ्जसँग जोडिएको ६ नं वडाको नाका सिल गरेको छ । सो वडाको नेपालगन्जसँग जोडिएको राप्ती पुललाई पूर्णरुपमा बन्द गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए ।

उनका अनुसार नरैनापुरसँगको पूर्वी नाका पनि बन्द गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्जवासीलाई सावधानी अपनाउन आह्वान गर्दै नगरवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

‘कन्ट्रयाक्ट ट्रेसिङ’मार्फत सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान भइरहेको पनि उनले जानकारी दिए ।नगर प्रमुख राणाले सङ्कटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गर्दै भने, “सङ्कटका बेला नेपालगञ्जवासीले संयमता अपनाउनुपर्छ, हामी आत्तिनु हुँदैन ।

सरकारले गरेको लकडाउन सबैले पालना गरेर सावधान बनौँ”, उनले विज्ञप्ति जारी गर्दै विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा नगरवासीलाई जोखिमबाट बच्न र सचेत हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्