Logo
२५ बैशाख २०८१, मंगलबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट परदेशमा ४८ नेपालीको मृत्यु, २२ सय ३८ नेपाली संक्रमित

नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ ।

शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् ।

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक/एकजनाको मृत्यु भएको छ ।

अमेरिका र बेलायतमा रहेका एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४/४, मलेसिया र क्यानाडामा ३/३, माल्टा, जापान र हङकङमा २/२, टर्की, म्यानमार र फ्रान्समा १/१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ ।

यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा संक्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा संक्रमण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने ।

खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो ।

२४सै घन्टा सेवा दिने गरी दुई साताअगाडि एनआरएनएले सुरु हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।

दूतावासले समन्वय गर्ने हो : प्रवक्ता दाहाल
दूतावासले संक्रमित नेपाली श्रमिकका लागि समन्वय मात्रै गर्न सक्ने युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता दाहालले बताइन् ।

उनका अनुसार संक्रमित भएका कोही श्रमिकको सूचना आएमा दूतावासले सम्बन्धित स्थानको प्रहरी, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयमा खबर गरी समन्वय गर्ने काम गर्छ ।

तर, युएई सरकारको व्यवस्थाअनुसार संक्रमण देखिएमा सुरुमा आफैं कोठामा सेल्फ आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा रहँदा पनि गाह्रो भएमा अस्पताल जानुपर्ने उनले बताइन् ।

सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ : अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघ

नेपालमा कोरोनाको कहर खासै नदेखिए पनि विदेशमा धेरै गैरआवासीय नेपाली यसको चपेटामा छन् । करिब अढाई हजार नेपाली संक्रमित भइसके ।

कतिपय संक्रमितले सूचना ग‍ोप्य राख्न चाहेकाले संक्रमितको संख्या अझ बढी छ । ४७ जनाको निधन भइसक्यो ।

अमेरिकामा धेरै संक्रमित छन् भने बेलायतमा धेरैको निधन भयो । स्पेन, इटाली र खाडी देशमा रहेका नेपाली पनि संक्रमित भइरहेका छन् । गैर आवासिय नेपाली संघको ८४ वटा देशका समन्वय समिति यतिवेला राहत र उद्धारमा सक्रिय छन् । अमेरिकाको न्युयोर्कमा अस्पतालमा बेड नभएर घरमै उपचार गर्नुपर्ने अवस्था आयो ।

संघले त्यस्तो परिवारमा औषधि पुर्‍याइदिने, अत्यावश्यक सामग्री जुटाइदिने गरेको छ । संक्रमितको संख्या अत्यधिक नभएका ठाउँमा उपचारमा धेरै समस्या छैन, त्यहाँको नागरिकसरह गैरआवासीय नेपालीले उपचार पाएको जानकारी पाएको छु ।

अवैध रूपमा रहेकाले पनि उपचार पाएका छन् । संघको स्वास्थ्य समितिले तथ्यांक संकलनका साथै उपचार, राहत, उद्धारमा समन्वय गरिरहेको छ ।

कोरोना महामारीका कारण धेरै नेपालीले रोजगारी गुमाउने अवस्था छ, खासगरी खाडी देशमा । रोजगारी गुमाउनेले स्वदेश फर्कनुपर्नेछ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडामा स्थायी बसोवास गरिरहेका फर्किंदैनन् । तर, विद्यार्थीहरू फर्किनुपर्ने हुन सक्छ ।

विद्यार्थी भए पनि काम गरेर पढ्ने खर्च जुटाउन पर्नेका लागि सजिलो हुनेछैन । करिब सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ । माल्टाजस्तो सानो टापुमा सात हजार नेपाली छन्, ती धेरै स्वदेश फर्किनुपर्ने अवस्था छ । पर्यटन व्यवसायमा रहेकाका नेपालीका लागि पनि अबको एक वर्ष चुनौतीपूर्ण छ ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्