Logo
२५ बैशाख २०८१, मंगलबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी देश भारतको नाका १० बजेदेखि बन्द हुने भएपछि नेपाल भित्रिनेको ओइरो

सरकारले छिमेकी मुलुकसँग जोडीएको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ ।

बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् ।१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘नाकाबाट आउनेको भीड छ,’ उनले भने, ‘तर हामीले सबैलाई स्वास्थ्य परीक्षण, आवश्यक सोधपुछ गरेरमात्र प्रवेश गर्न दिएका छौँ ।’

भित्रिएका सबैको परिचयसहितको रेकर्ड राखिएको पनि उनले बताए ।

शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

उनका अनुसार वीरगञ्जस्थित आयुर्वेद अस्पतालमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।

हाल क्वारेन्टाइनमा ७ जना रहेको पनि उनले बताए । ‘आइतबारसम्म कुल ६८ जनालाई राखेका थियौँ,’ उनले भने, ‘शंकास्पद देखिएका सात जना अहिले पनि क्वारेन्टाइनमा छन्, बाँकीलाई घरमै सुरक्षित रुपमा बस्ने शर्तसहित आफन्तको जिम्मा लगाएर पठाइएको छ ।’

भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए । ‘अहिले भारतबाट आएका नेपालीहरुलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ,’ उनले भने, ‘भारतीय नागरिकलाई प्रवेश दिइएको छैन ।’

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्