Logo
१७ बैशाख २०८१, सोमबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट फर्केका निवर्तमान राजदूत लीलामणि पौड्याल दुई साताका लागि ‘क्वारेन्टाइन’ मा

चीनका लागि नेपालका निवर्तमान राजदूत लीलामणि पौड्याल बुधबार स्वदेश फर्केलगत्तै राजधानी काठमाडौंस्थित निवासमा ‘सेल्फ क्वारेन्टाइन’ बसेका छन् । दुई साताको अवधि अध्ययन, चिन्तन–मननमा व्यतीत गर्ने उनले बताए ।

पौड्यालले आफू दुई साता सेल्फ क्वारेन्टाइनमा रहने र त्यसपछि मात्र घरबाट बाहिर निस्कने बताएका छन् । ‘बुधबार बेइजिङबाट फर्केँ, त्यसपछि दुई साताका लागि सेल्फ क्वारेन्टाइनमा छु,’ निवर्तमान राजदूत पौड्यालले फोनमा कुराकानी गर्दै भने, ‘त्यसवेलासम्म म कसैसँग भेट्दिनँ, बाहिर पनि निस्कन्नँ ।’

चीनसहित कोरोना भाइरस संक्रमित मुलुकबाट फर्केका सबै नागरिकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा रहन सरकारले आग्रह गरेको थियो । स्वस्थ नै रहे पनि साधारण नागरिकका रूपमा निवर्तमान राजदूत पौड्याल सरकारी आग्रह स्वीकार गर्दै ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।

सरकारले १८ फागुनमा दुई साताभित्र स्वदेश फिर्ता गर्ने निर्णय गरेपछि पौड्याल बुधबार स्वदेश फर्केका थिए । कार्यकालको तीन वर्ष चार महिना पाँच दिनमा उनी फर्केका हुन् ।

स्वदेश फर्किनुअघि मंगलबार बेइजिङबाट वक्तव्य जारी गरी पौड्यालले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, बिआरआईमा नेपालको प्रवेशलगायत अनेकौँ सहमतिमा सहभागी भएको बताएका थिए ।

यसैगरी आफ्नो कार्यकालमा जानी-जानी कुनै गल्ती नगरेकोसमेत उनले जिकिर गरेका थिए । उनले मंगलबार जारी भएको विज्ञप्तिमा उल्लेख भएका विषयबाहेक आफूले भन्नुपर्ने विषय तत्कालका लागि केही नभएको नयाँ पत्रिकालाई बताए ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्