Logo
२ जेष्ठ २०८१, बुधबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश–२ मा SEE परीक्षाको तयारी पूरा, ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुँदै

प्रदेश २ को ८ ओटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा SEE को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताए ।

उनले भने,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।”

निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु आजदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताए । यसवर्ष प्रदेश–२ को ८ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् ।

८ ओटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट ७ हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ ।

प्रदेश–२ को राजधानी जनकपुरस्थित शिक्षा विकास निर्देशनालयका अनुसार यसवर्ष सप्तरीबाट ९ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट ८ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट ८ हजार २४, रौतहटबाट ७ हजार ७०५ र पर्साबाट ८ हजार ५९ परीक्षार्थीको सहभागिता रहने छ ।

यसैगरी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ । यसवर्षको एसइई परीक्षालाई मर्यादित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्यादितरुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ ।

अघिल्लो वर्ष परीक्षा अगावै दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा २ विषयको पुनःपरीक्षा लिइएको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश–२ मा विद्यार्थीले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्ति तोडफोड समेत गरेका थिए ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्