Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्‍न नमस्ते गरौं, सिमा क्षेत्रका अस्पतालहरु संयुक्त रुपमा प्रयोग गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् ।

कोभिड-१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीचका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन ओलीले आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्ध सार्क आपत्कालीन कोष खडा गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई स्वागत गर्दै ग्रामीण क्षेतमा अस्पताल तथा अनुसन्धान र उपचार सेवा विस्तार गर्नुपर्ने पनि सुझाव दिए । ‘हामीले औषधि तथा स्यानिटरी सामग्रीको आपूर्तिको राम्रो व्यवस्था गर्नुपर्छ,’ओलीले भने ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा रहेका अस्पतालहरु कोभिड–१९ को परीक्षण र उपचारका लागि संयुक्त रुपमा प्रयोग गर्न सकिने पनि बताए । साथै कोभिड–१९ जस्तो महामारीबाट बच्‍नका लागि सार्कस्तरीय संयुक्त संयन्त्र बनाउनुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औंल्याए ।

पूर्वीय संस्कृति मानिने नमस्ते अहिले पश्चिमा देशहरुमा समेत प्रचलनमा आएको छ । बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्ते गरेर कोभिड–१९ को संक्रमणबाट बच्‍न आग्रह गरेका छन् ।

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फरेन्समा सहभागी भएका थिए ।

हालै मात्रै मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभ लिइरहेका प्रधानमन्त्री ओलीलाई कन्फरेन्समा सहभागी भएकोमा सबैले धन्यवाद दिँदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीका साथै अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी थिए ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्