Logo
२४ बैशाख २०८१, सोमबार
(February 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री समक्ष मन्त्री त्रिपाठीको प्रष्टिकरण : ‘मन्त्रालय भताभुङ्ग छ, ठिक पार्न म भिटो नै युज गर्छु’

प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिच छुट्टै भेटवार्ता भएको छ । मन्त्री त्रिपाठीले मन्त्रालयको स्थिति निकै नै भताभुङ्ग रहेको भन्दै पुरै अवस्था ठिक बनाउन भिटो पावर नै प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री समक्ष कुरा राखेका हुन् ।

शुक्रवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले करिब ४५ मिनेट प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन् । भेटमा स्थानीय तहमा खटिएका कर्मचारी तथा प्रमुख प्रशासकीय अधिकृतहरुको नामावलीसम्म नरहेको बताएका हुन् ।

मन्त्रालयमै रहेका नेतृत्व वर्गका कर्मचारीमा दलगत धम्कीवाजी, अटेरी र गुटगत शासनप्रणाली बढी रहेको उनले प्रधानमन्त्रीलाई बताए । ‘मैले प्रधानमन्त्रीलाई सवैकुराको अवगत गराएं, उहाँले सबै कामकार्य गर्न आवश्यक परे भिटो पावर नै युज गर्नसम्मको जिम्मेवारी दिनु भएको छ’ । मन्त्री त्रिपाठीले नगरिक टाईम्ससँग भने ‘मन्त्रालयको इन्जिन नै भताभुङ्ग रहेकोले त्यसलाई ब्यवस्थापन गर्न अलि कडा रूप नै अपनाउनुपर्ने देखिन्छ’ ।

भेटमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक टुङ्गोमा लगाउने विषयका साथै समग्र राजनीतिक परिस्थितिका बारेमासमेत छलफल भएको उनले बताए ।

देशको राजनीतिलगायत सबै विषयमा धेरै कुरा भएको मन्त्री त्रिपाठीले बताए । ‘ठ्याक्कै यही र यस्तै भन्ने त होइन तर धेरै विषयमा लामो छलफल भयो’ उनले भने ‘निजामती ऐनबारे पनि सामान्य कुरा भएको छ ।’

सङ्घीय निजामती सेवा ऐनमा भएका कुन प्रावधानबारे के-के छलफल भयो भन्नेबारे खुलाउन नचाहेका मन्त्री त्रिपाठीले समितिका सदस्यहरूमा देखिएको मतभेदतर्फ इङ्गित गर्दै दुइटै अध्यक्षहरू बसेर छलफल पछि निष्कर्षमा पुग्दा अझ सहज हुने बताए ।

‘एउटै दलको एउटै बिचार हुनु राम्रो हो’ मन्त्री त्रिपाठीले भने, ‘यसका लागि दुवै अध्यक्षज्यूहरू बिच छलफलपछि निष्कर्षमा पुग्न सहज हुन्छ ।’

उनले संसद्को यही अधिवेशनबाट ऐन टुङ्ग्याउनु पर्छ भन्नेबारे प्रधानमन्त्रीसँग कुरा भएको बताएका छन् । यसैबिच आजै विहान राज्य व्यवस्था समितिसँगको अनौपचारिक भेटमा मन्त्री त्रिपाठीले ऐन टुंगोमा लगाउन थप केही दिनको समय मागेका छन् ।

यससँगै संघीय निजामती सेवा ऐन आउन अझै केही समय लाग्ने देखिएको छ । केही दिन यता देखिएको राजनीतिक उतारचढावकाबीच तत्काल दुई अध्यक्षबीच यस विषयमा छलफल हुने त्यति सम्भावना नरहेकोले पनि ढिलाई हुने देखिन्छ ।

प्रकाशित मिति: Feb 29, 2020

प्रतिक्रिया दिनुहोस्