Logo
२६ बैशाख २०८१, बुधबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चार उद्यमी जमिम शाह हत्या भएको १० वर्ष भएपनि सुटर अझै फरार

२४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । तर, त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने उदांगो बनाइदियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या गर्‍यो ।

शाह हत्याको शुक्रबार १० वर्ष पुगेको छ । यति लामो समयसम्म पनि त्यो घटनामा भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन नै, घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् भने छानबिन आयोगले सुरक्षा बलियो बनाउन दिएका सुझाबहरूसमेत कार्यान्वयन भएका छैनन् । तीन कारणले यो घटना निकै संवेदनशील भएको प्रहरी अधिकारीहरू बताउँछन् । पहिलो, यसमा अन्तरदेशीय आपराधिक गिरोहको संलग्नता थियो । दोस्रो, यसमा नेपाल प्रहरी अधिकारीकै मिलेमतो थियो । र तेस्रो, देशको भिआइपी क्षेत्रमा दिउँसै गोली हानेर हत्या गरेर सुटरहरू सजिलै भाग्न सफल भएका थिए ।

 

आतंकवादी गतिविधि तथा नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा शाहको हत्या भएको अनुसन्धानपछि विश्लेषण गरिएको थियो । तर, त्यस्तो अपराधमा शाहको संलग्नता पुष्टि हुन सकेको थिएन । दाउद समूहसँग कारोबारमा मुछिएका युनुस अन्सारीलाई हत्या गर्न त्यो समूह भारतबाट आएको र त्यसमा असफल भएपछि शाहको हत्या गरेको अनुसन्धानमा खुलेको त्यतिवेला काठमाडौं प्रहरीका प्रमुख रहेका गणेश केसी बताउँछन् । त्यसवेला अन्सारी नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका थिए । उनलाई अदालत लैजाने क्रममा गोली हान्ने उनीहरूको योजना असफल भएको थियो । एक वर्षपछि सुन्धारास्थित केन्द्रीय कारागारभित्रै छिरेर अन्सारीमाथि गोली प्रहार भएको थियो । जेलबाट छुटेका युनुस गत वर्ष फेरि पक्राउ पर्दै हाल जेलमै छन् ।

अधुरो अनुसन्धान
जमिम हत्या घटनामा प्रहरीको अनुसन्धान अझै अधुरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २७ फागुन २०६६ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दायर गरेको थियो । तीन वर्षपछि जिल्ला अदालतले पाँचैजनालाई दोषी ठहर गरेको थियो । जेल परेका सबैजना छुटिसकेका छन् ।

 

प्रहरीले तत्कालीन सइ प्रकाश क्षेत्री, हतियार व्यवस्थापन तथा सुटरलाई भगाउन भूमिका खेल्ने लक्ष्मण धमला र प्रकाश खड्का, गिरोहलाई सहयोग गर्ने पूर्वडिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । पौडेल अझैसम्म फरार छन् । उनकै कार्गो अफिसलाई आपराधिक समूहले हतियार लुकाउन प्रयोग गरेको थियो ।
छोटा राजन समूहको निर्देशनमा बब्बु श्रीवास्तवले यो हत्या गराएको छानबिन आयोगको निष्कर्ष थियो । त्यसका लागि त्रिलोक सिंह भनिने दीपक शाही पटकपटक नेपाल आएका थिए ।

शाही तथा सुटरविरुद्ध अहिलेसम्म अनुसन्धान र मुद्दा दायर हुन सकेको छैन । त्यतिवेला उनीहरूको ठेगाना नखुलेकाले मुद्दा दायर नभएको काठमाडौं परिसरका तत्कालीन एसपी गणेश केसी बताउँछन् । डिआइजीबाट अवकाश पाएका केसी भन्छन्, ‘त्यतिवेला उनीहरूको ठेगाना खुल्न नसकेकाले मुद्दा दायर नगरिएको हो । फरार बनाएर मुद्दा दायर गरेको भए प्रहरीले उनीहरूमाथि थप छानबिन गर्न पाउँदैनथ्यो, त्यही भएर पनि मुद्दा दायर नगरिएको हो ।’ तर, त्यसयता प्रहरीले सो घटनाका अभियुक्त खोज्न चासो दिएको छैन । घटनामा संलग्न सइ क्षेत्री योजनाकार दीपक शाहीका आफन्त थिए । सोही आधारमा आर्थिक लोभमा परेर उनले सुटर भगाउनसमेत सहयोग गरेका थिए ।

शाहको हत्यापछि सिआइबी गठन
पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा सरकारले छानबिन आयोग गठन गरेको थियो । आयोगले सरकारले एक दर्जन महŒवपूर्ण सुझाबहरू दिएको थियो । त्यसमध्ये एउटा मात्र सुझाब कार्यान्वयन भयो– संगठित किसिमको अपराध अनुसन्धानका लागि विशेष प्रकृतिको संयन्त्र बनाउने । सोही सिफारिसअनुसार नेपाल प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को स्थापना भएको आयोगका सदस्यसमेत रहेका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । उनकै नेतृत्वमा २०६७ साउनदेखि सिआइबी स्थापना भएको थियो ।

आयोगले सीमा बलियो नियन्त्रित सिस्टम बनाउन तथा उपत्यकाका नाकामा भेहिकल एक्सरे गेट राख्न भनेको थियो, जुन अहिलेसम्म कार्यान्वयन भएको छैन । त्यस्तै, अध्यागमनको जिम्मा कर्मचारीबाट खोसेर अध्यागमन प्रहरी गठन गर्न भनिएको थियो । पटकपटक अध्यागमनको जिम्मेवारी प्रहरीलाई दिने प्रयास भए पनि कर्मचारीतन्त्रबाटै विरोध भएपछि सफल हुन सकेको छैन ।

अभियुक्त नसमातिँदा रोकिएन हत्या शृंखला
स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका मालिक रहेका शाहलाई दैनिक निगरानी गरेर हत्या गरिएको थियो । मोटरसाइकलमा पिछा गरेर उनलाई गाडीभित्रै गोली हानिएको थियो । उपचारका क्रममा उनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । शाहका चालक मथुरामान मालाकारसमेत गोली लागेर घाइते भएका थिए । सुरुमा मालाकारलाई गोली हानी गाडी रोक्न लगाएर शाहमाथि गोली हानिएको थियो ।

घटनाका प्रमुख योजनाकार छोटा राजनका सहयोगी बब्लु श्रीवास्तव हुन् । जेलबाटै उनीहरूले यो योजना बनाएका थिए । उनले दीपक शाहीलाई खटाएर जमिमको हत्या गरेका थिए । शाहीले भारतबाटै सुटर ल्याएर लामो समयसम्म शाहको सूचना जम्मा गरेर हत्या गरेका थिए । घटनालगत्तै सोही समूहका भरत नेपालीले स्पेसटाइमको कार्यालयमा फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए । उनीहरू सबै छोटा राजन समूहका सदस्य हुन् । छोटा राजन र दाउद समूहबीच चलेको टक्करका कारण यस्ता घटना हुँदै आएको र यसमा भारतीय सुरक्षा निकायको समेत स्वार्थ गाँसिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

जमिम शाहपछि भारतीय गिरोहबाटै ९ असोज २०६८ मा घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको गोली हानी हत्या भएको थियो । यसमा पनि जमिमको हत्या गर्ने समूहको संलग्नता देखिएको थियो । २०५५ सालदेखि नै नेपालमा अन्तरदेशीय अपराधको शृंखला चल्दै आएको छ । १५ असार २०५५ मा पूर्वमन्त्री मिर्जादिलसाद बेगको हत्या भएको थियो । छोटा राजन समूहले नै मिर्जाको हत्या गरेको थियो । सोही समूहको प्रत्यक्ष–अप्रत्यक्ष असहयोगमा नेपालमा अन्य ठूला हत्या हुँदै आएका छन् । पछिल्लोपटक सुनसरीमा भएको खुर्सिद आलमको घटना पनि यसैको शृंखला भएको प्रहरीको विशेष ब्युरोका एक प्रहरी अधिकारी बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्