Logo
२५ बैशाख २०८१, मंगलबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियन्त्रित गतिमा आइरहेको कारले ठक्कर दिदा एक महिलाको मृत्यु

काठमाडौँ: काठमाडौंको बुढानिलकण्ठमा शनिबार बिहान फुटपाथमा हिँडिरहेकी एक महिलाको अगाडिबाट आएको कारले ठक्कर दिएर ज्यान गयो।

अनाहकमा ज्यान गुमाउने महिला गोरखा स्थायी घर भई हाल राजधानीमा पस्मिना कारखानामा काम गरेर गुजारा चलाइरहेकी लिला देवकोटा थिइन्।

महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख उमेश लम्सालका अनुसार संकटा मन्दिर दर्शन गरेर घर फर्कँदै गरेकी देवकोटालाई अनियन्त्रित गतिमा आइरहेको बा १४ च ६१२३ नम्बरको सुजुकी कारले लेन मिचेर ठक्कर दिएको थियो।

घाइतेलाई तत्काल अस्पताल र्पुयाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। देवकोटालाई ठक्कर दिने कारका चालक चाबहिलका २१ वर्षीय पृथ्वी मल्ल हाल प्रहरी हिरासतमा छन्। ‘ड्रिंक एन्ड ड्राइभको स्थिति देखिन्छ’, डीएसपी लम्सालले भने।

प्रहरीका अनुसार चालक मल्ल केही दिनअघि मात्र बिदा मनाउन अमेरिकाबाट नेपाल आएका थिए। परिवारका एकमात्र सन्तान पृथ्वी अध्ययनका लागि केही वर्षअघि अमेरिका पुगेका थिए। तर पृथ्वीको आनीबानीका कारण परिवार आजित थियो।

शुक्रबार साँझ उनी घरमा रहेको गाडी लिएर निस्किएका थिए साथीहरुसँग ‘विकेन्ड’ मनाउन। प्रहरीका अनुसार शुक्रबार रातभर ठमेलमा मस्ती गरेका पृथ्वीले चलाएको कारले ठक्कर दिएलगत्तै कारबाट दुई जना युवती निस्किएर भागेका थिए। प्रहरीले कारमा रहेका अर्का युवक २० वर्षीय करिस मास्केलाई भने छाडेको छ।

‘सवारी ज्यानमा मुद्दा चल्ने भएकाले चालकलाई मात्र नियन्त्रणमा लिइएको हो’, डीएसपी लम्सालले भने। प्रहरीसँगको प्रारम्भिक बयानमा पृथ्वीले रातभर ठमेलमा रमाइलो गरेर शनिबार बिहान शिवपुरी नजिकैको डाँडागाउँ पुगेर आएको बताएका छन्।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्