Logo
२ जेष्ठ २०८१, बुधबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौष्टिक तत्वले भरपुर बहुउपयोगी खाद्यान्न मकैको सातु

पर्वत :  नेपालको प्रमुख खाद्यबालीमध्येको एक मकै पनि हो। मकै संसारको तेस्रो खाद्यबाली पनि हो।

नेपाल गाउँहरूमा दशकौँ पहिलेसम्म चामल भन्दा मकै र कोदो बढी खाने प्रचलन थियो। तर आजभोलि भने चामल सहज रुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ। कृषकले उत्पादन गर्ने मकै पशुपंक्षीको आहारको लागि मात्र प्रयोग हुने गरेको छ। क्यालोरी, सुगर, फाइवर, ओमेगा लगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर मकैको सातुको उत्पादन थालिएको छ।

फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले मकै खाने प्रवृत्ति बृद्धि गर्न र यसले स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने भएकोले मकैको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ। यसअगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवा लगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुस जस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएकोमा यस बर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुषालले जानकारी दिए।

‘मकै खानु स्वास्थ्यको लागि राम्रो हो। अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ।’ भुषालले भने, ‘अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ। यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ।’ पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, ५ प्रतिशत बदाम, ३ प्रतिशत चिनी, १ प्रतिशत नुन, १ प्रतिशत अदुवा, मरिच र अलैचीँको समिश्रण राखिएको र मकैको सातु पूर्ण रुपमा अर्गानिक रहेको भुषालको भनाई छ।

उद्योगले फलफुलको अलावा कोदो र गहुँको पनि परिकार पनि बजारमा ल्याएको छ। स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने र सातुलाई उत्पादनको ६ महिनाभित्र प्रयोग गर्न सकिने छ। विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलन मध्य अमेरिकाबाट शुरु भएको थियो।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्