Logo
१९ बैशाख २०८१, बुधबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोसल साइट फेसबुकमाथि सांसकाे गम्भीर आरोप : ‘डिजिटल गुण्डा हो फेसबुक’

बेलायती सांसदले सोसल साइट फेसबुकमाथि गम्भीर आरोप लगाएका छन् । बेलायती सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकमाथि बेलायतमा जानीजानी गोपनीयतासम्बन्धी कानून तथा प्रतिस्पर्धासम्बन्धी कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ ।सांसदहरुले फेसबुकलाई ‘डिजिटल गुण्डा’ को रुपमा रहेको आरोप लगाएका छन् । साथै सोसल मिडिया कम्पनीहरुमाथि अधिक निगरानी राख्न पनि आह्वान गरेका छन् ।

सोसल मिडियामा फर्जी तथा भ्रामक जानकारीहरु सम्बन्धमा १८ महिना लगाएर गरिएको अनुसन्धानको उक्त प्रतिवेदन तयार पार्ने संसदीय समितिले सोसल मिडिया वेबसाइटहरुले अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्ने ठहर गरेको छ । हानिकारक तथा अवैध सामाग्रीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नका लागि एक स्वतन्त्र नियामक निकायले निगरानी गर्नुपर्ने पनि सुझाव दिइएको छ ।

फेसबुकका बारेमा टिप्पणी गर्दै रिपोर्टमा भनिएको छ, यस्तो लाग्छ कि फेसबुकलाई यस्तो रुपले डिजाइन गरिएको छ जसबाट खास निर्णयका लागि ज्ञान तथा जिम्मेवारीहरु लुकाउन सकियोस् । फेसबुकले जानीजानी डाटाको गोपनीयता तथा प्रतिस्पर्धारोधी कानूनको उल्लंघन गरेको समितिको निष्कर्ष छ । रिपोर्टमा फेसबुकका सीईओ मार्क जुकरबर्गले बेलायती संसदको अवहेलना गरेको समेत आरोप लगाइएको छ ।

जुकरबर्गलाई समितिमा आएर बयान दिनका लागि पटक पटक आग्रह गर्दा पनि उनले नटेरेको बताइएको छ । रिपोर्टको निष्कर्ष छः फेसबुक जस्ता कम्पनीहरुलाई अनलाइन दुनियाँमा डिजिटल गुण्डा जस्तो व्यवहार गर्ने अनुमति दिनु हुँदैन । जसले आफुलाई कानून भन्दा माथि ठान्दछ ।’ फेसबुकका बेलायतस्थित प्रतिनिधिले भने फर्जी समाचार तथा चुनावमा फेसबुकमार्फत हुनसक्ने अनुचित प्रभावलाई रोक्नका लागि बेलायतसँग सार्थक सहकार्य गर्न फेसबुक तयार रहेको बताएका छन् ।

उनका अनुसार फेसबुकमा खराब सामाग्रीहरुको पहिचान गरी त्यसलाई रोक्ने कामका लागि फेसबुकले ३० हजार कर्मचारी खटाएको छ । साथै फेसबुक दुरुपयोग हुनबाट रोक्नका लागि प्रविधिमा समेत भारी लगानी गरिएको छ । फेसबुक लगायतका सोसल मिडियामा साइटहरुमाथि प्रयोगकर्ताको डाटाको गोपनियता कायम राख्न नसकेको र विभिन्न देशका चुनावलाई प्रभावित पार्नका लागि सोसल मिडिया प्लाटफर्मको दुरुपयोगलाई समेत रोक्न नसकेको आरोप लाग्ने गरेको छ । #एजेन्सी

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्