Logo
२४ बैशाख २०८१, सोमबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सेवा अवरुद्ध पार्ने चिकित्सकको नाम सङ्कलनपछि सार्वजनिक गर्छौ’

काठमाण्डौं : नेपाल चिकित्सक संघले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आज (शुक्रबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । अस्पतालमा सबैभन्दा बढी सेवा लिने विभाग भनेको ओपीडी हो, तर आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि यो सेवा लिनबाट धेरै सेवाग्राही बञ्चित बनेका छन् । कतिपय अस्पतालमा ओपीडी सेवा बन्द भएपछि आकस्मिक कक्षबाटै उपचार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विरामीहरु शुक्रबार बिहानै काठमाडौको बीर, टिचिङलगायतका अस्पताल पुगेपनि उनीहरु सेवा नपाएर फर्कन बाध्य भएका थिए । तर, अस्पताल प्रशासन भने केहीबेर सेवा अवरोध भएपनि पुनः सुचारु गरेको दावी गर्छन् । अस्पताल प्रशासनले ओपीडी सेवा केहीबेर बन्द भएपनि १० बजेपछि ती सेवाहरु सूचारु गरेको जनाएका छन् । अन्य दिनको तुलनामा शुक्रबार सेवा लिने बिरामीको सङ्ख्या समेत अस्पतालमा निकै कम देखिएको छ ।

तर, त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख सुर्यप्रसाद अधिकारीले आन्दोलनरत चिकित्सकहरुले बिहान एकछिन सेवा अवरोध गर्ने प्रयास गरेपनि असफल भएको बताए । ‘आन्दोलनरत पक्षले सेवा प्रवाहमा अवरोध गर्ने प्रयास गरेको थाहा पाएपछि प्रशासनले सेवा सञ्चालन गरेको छ’ अधिकारीले भने, ‘सेवा प्रवाहमा अवरोध गर्ने चिकित्सकहरुको नाम सङ्कल भइरहेको छ । नाम सङ्कलनपछि सार्वजनिक गर्छौ ।’

डा. केसीको पक्षमा गत सोमबारदेखि नेपाल चिकित्सक संघले थालेको रिले अनशनलगायत विरोधका कार्यक्रमलाई बेवास्ता गरेको भन्दै सरकारलाई दवाव दिन संघले शुक्रबार देशैभरका सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा ठप्प पार्नुपरेको जनाएको छ ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्