Logo
२७ बैशाख २०८१, बिहीबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधेयक पारित भएपनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म डा. केसीले अनशन जारी राख्‍ने

काठमाडौँ : आफूसँग सरकारले गरेको सम्झौता विपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि अनशन जारी राख्ने निर्णयमा पुगेका डा. गोविन्द केसीले आफ्नै सम्झौता उल्लंघन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले आम जनतालाई साक्षी राखेर आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेर ठूलो गल्ती गरेको भन्दै ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्ने माग डा. केसीको छ ।

संसदबाट विधेयक पारित भएको केही घण्टा अर्थात शुक्रबार साँझ साढे पाँच बजे अनशनस्थल त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. केसीले त्यस्तो माग गरेका हुन् ।

डा. केसीले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएको तथा आफ्नै विगतको निर्णयबाट विचलित उनले तत्काल नैतिकताका आधारमा राजीनामा दिनु पर्ने अवस्था आएको छ ।’

प्रधानमन्त्री ओलीको निर्णय क्षमता, उनको स्वास्थ्य अवस्था र उनले लिइरहेको औषधिका कारण प्रभावित भइरहेको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण भएको समेत डा. केसीले बताएका छन् ।

‘१५ औँ सत्याग्रह टुग्याउने बेला सरकारले बुँदागत सम्झौता गर्‍यो । तर सत्तारुढ दलले जालझेल मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गरेको सम्झौता प्रतिकूल हुनेगरी विधेयक पारित गर्‍यो ।

यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय शिक्षा र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा पार्टीसँग साठगाँठ भएका अमुक मेडिकल कलेजलाई प्राथमिकता दिएको पुष्टि भएको छ,’ डा. केसीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा डा. केसी अघि भन्छन्, ‘यस्तो कार्यले सम्पूर्ण नेपाली नागरिकमाथि ठूलो धोका भएको छ। त्यसैले पुस २५ गतेदेखि सुरु गरेको अनशन जारी राख्दै बाँकी ६ वटा माग पूरा गर्न स्मरण गराउँछौँ ।’

डा. केसीले आफ्नो समर्थनमा उत्रिएकाहरुलाई सरकारले शुक्रबार धरपकड गरेको भन्दै त्यसको विरोध गरेका छन् । र तत्काल उनीहरुको रिहाइको माग समेत उनले गरेका छन् ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्