Logo
२५ बैशाख २०८१, मंगलबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजश्वमा छुट पाउने भएपछि जमीनमा महिलाको स्वामित्व बढ्यो

दाङ : कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो ।

अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला ?’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ ।

सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् । सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस यस आर्थिक वर्षको हालसम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए ।

वर्ष २०७३/७४ मा शहरी क्षेत्रका सात हजार ८९७ र ग्रामीण क्षेत्रका एक हजार ४३५ गरी जम्मा नौ हजार ३३२ महिलाको नाममा जग्गा पास हुँदा रु दुई करोड ८६ लाख १० हजार ७२३ राजश्व छुट पाएका थिए । आर्थिक वर्ष २०७४/७५ मा शहरी क्षेत्रका सात हजार ९९२ र ग्रामीण क्षेत्र ४७ गरी जम्मा आठ हजार ३९ महिलाको नाममा जग्गा पास भएको थियो । सो वर्ष महिलाले रु दुई करोड ७५ लाख पाँच हजार ६०१ राजश्वमा छुट पाएका थिए ।

कार्यालयका अनुसार सरकारको उक्त नीति लागू हुनुअघि जिल्लामा केही न्यून सङ्ख्यामा मात्र महिलाको नाममा जग्गा पास हुने गरेको थियो । अहिले त्यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । “हामी एकै रथका दुई पाङ्ग्रा हौँ, उनको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु”, तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय हरि अधिकारीले भन्नुभयो ।

मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आउनुभएकी तुलसीपुर–१२ की ४१ वर्षीया विष्णी रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजश्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताउनुभयो ।

आफ्नो नाममा जग्गा पास गराउन मालपोत कार्यालय तुलसीपुरमा आएकी अर्की महिला उपमहानरपालिका–६ की ५२ वर्षीया सुशीला भट्टराईले महिलाको नाममा सम्पत्ति भएपछि महिला घरपरिवारबाट हेपिन नपाउने बताउनुभयो । आफ्नो एकल निर्णयले श्रीमान्ले पनि जग्गा जमीन बेच्न नसक्ने उहाँको भनाइ थियो ।

“महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान पनि बढाएको बताउनुहुन्छ”, मालपोत कार्यालय दाङका प्रमुख विनोद पौडेलले भन्नुभयो ।

उहाँका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँचलाई बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी रहेको छ । यसले शहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाएको छ । महिला अधिकारकर्मी तथा अधिवक्ता गोमा महराले पनि सरकारी नीति सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले महिलालाई सशक्तीकरण गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्न मद्दत पुगेको छ ।”

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्