Logo
१७ बैशाख २०८१, सोमबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगी आदित्यनाथको स्वागत तयारीमा जुटे मुख्यमन्त्री मोहम्मद लालबाबु

साधुसन्तका लागि मुख्यमन्त्रीले भण्डारा गर्ने

जनकपुरधाम : विवाहपञ्चमीका अवसरमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट जनकपुर आउने मुख्यमन्त्री योगी आदित्यनाथ समेतको जन्तीलाई स्वागत तथा बिदाइ गर्ने भएका छन् । प्रदेश सरकारले जनकपुरस्थित जानकी मन्दिरमा मंसिर ७ गते आयोजना हुने राम-जानकी विवाहोत्सवमा सहभागी हुन आउने अतिथिको स्वागतसत्कारका लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

उनले प्रदेश सरकारका तर्फबाट विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट आउने जन्ती, साधुसन्तका लागि मंसिर २६ गते भण्डारासमेत आयोजना गर्नेछन् ।

प्रदेस सरकारको मन्त्रलायहरू रहेको मधेश भवन परिसरमा १ हजार ५ सय जनाका लागि मुख्यमन्त्री राउतले भण्डारा आयोजना गर्ने तयारी भइरहेको छ । विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट जन्ती बनेर आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत भण्डारमा सहभागी हुनेछन् ।

मुख्यमन्त्री नेतृत्वको सरकारी टोलीले विवहोत्सव तयारीका बारेमा स्थलगत अनुमगन तथा सरोकारवालाहरूसँग छलफल गरेको छ । विवाह महोत्सवका लागि मन्दिर सरसजावट, निर्माणाधीन अवस्थामा रहेको मन्दिर पुग्ने बाटो, महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीको स्वागतको तयारी, रामजानकीको डोलाको स्वयम्वर हुने रंगभूमि मैदान (बाह्रविघा)को अवस्थाबारे सो टोलीले जानकारी लिएको छ ।

अनुगमन टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र प्रदेश सांसदहरू सहभागिता थियो । विवाह महोत्सवमा भारतको अयोध्याबाट उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरी जनकपुर आउनेछन् । जन्ती बनेर योगी आउने भएपछि यस वर्षको विवाहपञ्चमी विशेष बनेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । योगि आउने भएपछि विवाहपञ्चमीको आकर्षण थप बढेको छ ।

महोत्सवमा सहभागी हुनका लागि नेपाल र भारतका लाखौं श्रद्धालुहरू जनकपुर आउने पाहुनाको बसाइ व्यवस्थित गर्न जानकी मन्दिरको प्रांगणमा टेन्ट लगाउने, जनकपुर नगरक्षेत्रभित्र रहेका धर्मशाला, मठमन्दिर र सार्वजनिक स्थलहरूमा बास र खानाको व्यवस्थापन गर्न जानकी मन्दिर तयारीमा जुटेको जानकी मन्दिरका दासले जानकारी दिए । विवाह महोत्सवमा जानकी मन्दिर सजावट, अयोध्याबाट आउने जन्ती तथा साधुहरूको स्वागत, बस्ने व्यवस्था र खानाको तयारी भइरहेको उनले बताए ।

त्रेतायुगमा मिथिलाका राजा राजर्षि जनकले छोरी सीताको विवाहका लागि स्वयंवरको आयोजना गरेका थिए । मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ ।

यस वर्ष मंसिर २१ गतेबाट विवाहपञ्चमी महोत्सवको कार्यक्रम सुरु हुँदैछ । महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैंटो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुन्छ ।

महोत्सवको अन्तिम दिन रामकलेवा गरी जन्तीको बिदाइ गर्ने कार्यक्रम तय गरिएको उत्तराधिकारी महन्थ दासले बताए ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्