Logo
१७ बैशाख २०८१, सोमबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाट जित्न नसकेका कांग्रेस उपसभापति निधीको प्रश्न : आदित्यनाथ जनकपुर किन ?

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको नेपाल भ्रमणमा प्रश्न उठाएका छन् । आदित्यनाथ विवाहपञ्चमीमा जनकपुर आउने निश्चितप्रायः भइसकेको स्थितिमा उनले आशंका व्यक्त गरेका हुन्। उनी प्रतिनिधिसभाको निर्वाचनमा जनकपुर ३ का उम्मेदर रहेता पनि जित्न नसकेका पराजित नेता हुन् । उक्त क्षेत्रबाट अर्का उम्मेदवार राजेन्द्र महतो निर्वाचित भएका थिए।

निधीले बुधबार केहि सञ्चारर्मीसँग नेपालमा राजतन्त्र फर्काउन वकालत गर्दै आएका र हिन्दू राष्ट्रको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका आदित्यनाथलाई सरकारले कुन मनसाय जनकपुर ल्याउन लागेको हो सोधे। विवाहपञ्चमी जनकपुर क्षेत्रका हिन्दुको सबैभन्दा ठूलो चाड मानिन्छ। जनकपुरका स्थानीय निधीले सरकारसँग सार्वजनिक जवाफ माग्दै सोधे, ‘संघीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्ने अभिभारा बोकेको सरकारले के गर्न लागेको हो ? ’

उनले जयनगर-जनकपुर–कर्था रेल सेवाको उद्घाटन पनि भारतको एउटा प्रान्तीय मुख्यमन्त्रीबाट गराउनु लज्जापद र अपाच्य निर्णय भएको जिकिर गरे। ‘यस्तो राष्ट्रिय महत्व र गौरवका परियोजना सके दुई देशका प्रधानमन्त्री’, उनले भने, ‘नभए विदेशमन्त्री र त्यो पनि सम्भव नभए विभागीय मन्त्रीले रेलको उद्घाटन गर्नुपर्छ।’ जयनगर–जनकपुर रेल परियोजना दुई देशकै लागि महत्वपूर्ण उपलब्धि भएको उनले स्पष्ट पारे। विदेश नीतिको दृष्टिकोणबाट पनि रेल परियोजना महत्वपूर्ण भएकाले सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

निधीले प्रदेश २ का कतिपय मन्त्रीले आफू आदित्यनाथको भ्रमणको तयारीमा लागिसकेको समाचारमा आएको बताए। ‘यसबाट कम्युनिस्ट पार्टीसँगै मधेसी पार्टीहरूको नियत पनि स्पष्ट हुन्छ’, उनले भने, ‘मधेसी पार्टीहरू आफूलाई संघीयता र गणतन्त्रको पक्षपाती शक्ति भन्छन्, अनि यस्तो भ्रमणको तयारी उनीहरूकै नेतृत्वको प्रदेश सरकारले कसरी गरिरहेको छ ? यो गम्भिर छ।’

निधीले यसबाट नेकपाको सरकार रणनीतिक तवरमा नै संघीयता र गणतन्त्र उल्टाउन त लागेको त होइन भन्ने आशंका जन्माएको बताए। ‘संघीयता सुदृढ पार्न आवश्यक कानुन निर्माण नगरी धार्मिक र राजतन्त्रको वकालत गर्ने भारतीय नेतालाई औपचारिक रूपमा बोलाएर के गर्न खोजिएको हो ? ’ उनले सोधे, ‘त्यसका साथै भारतको गणतन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथि हुने समाचार पनि सरकारले प्रष्ट पार्नु पर्छ।’

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउँदै


रामजानकी विवाह महोत्सवमा जन्ती बनेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरेर अयोध्याबाट आउने भएका छन् । उनी जन्ती आउने निश्चित भएपछि महोत्सव भव्य बनाउने गृहकार्य सुरु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने टुंगो मात्र लागेको जानकारी दिए ।

लामो समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंह जन्ती बनेर आउने चर्चा चल्दै गएको थिये । तर मोदी नआउने निस्चित भइसकेको छ । गृहमन्त्री सिंह भने आउने सम्भावना अझै छ । मन्त्री यादवले गृहमन्त्री सिंह पनि जन्तीमा आउने विषयमा छलफल चलिरहेको बताए । मुख्यमन्त्री आदित्यनाथ भने जहाजबाट जनकपुर आउने पनि लगभग टुँगो लागिसकेको उनको भनाइ छ ।

जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि करिब ५ देखि ६ हजारसम्म सुरक्षाकर्मी परिचालन हुने मन्त्री यादवले बताए । उनले अयोध्याबाट आउने जन्तीलाई मधेस भवन (जचुकाली)मा र मुख्यमन्त्री आदित्यनाथलाई मुख्यमन्त्री लालबाबु राउतको निवासमा खाना खुवाउने तयारी भइरहेको बताए । भने, ‘निर्णय भने अहिले भइसकेको छैन ।’ मुख्यमन्त्री आदित्यनाथले विवाह महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने निश्चित मात्र भएको उनले जानकारी दिए ।

धार्मिक ग्रन्थ रामायणका अनुसार राम र सीताको विवाह सम्पन्न भएको मंसिर शुक्ल पञ्चमीका दिन हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव भव्यताका साथ मनाइन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि बिहे भएको थियो । त्यसैले अयोध्याबाट हरेक वर्ष जन्ती आउने गर्छ । यो पटक मुख्यमन्त्री आदित्यनाथ आउन लागेको र प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेपछि यो पटक महोत्सव भव्य हुने विश्वास गरिएको छ ।

मुख्यमन्त्री आदित्यनाथले जयनगर–जनकपुर (कुर्था) रेलको उद्घाटन र जनकपुरधाम उपमहानगरपालिका १४ मा निर्माण हुने भनिएको रामजानकी अन्तराष्ट्रिय स्टेडियमको शिलान्यास गर्ने भनिएपनि कार्यक्रम तय हुन सकेका छैन । जयनगरदेखि जनकपुरको कुर्थासम्म २७ किलोमिटरमा रेल लिक निर्माण भइसकेको छ । स्टेशन र कर्मचारी आवास निर्माण अन्तिम चरणमा छ । रेलको उद्घाटन हुने चर्चा चलेपछि अहिले सयौं कामदार दु्रत गतिमा काम गरिरहेका छन् । तर रेल इन्जिन र डब्बा खरिद गर्ने वा भाडामा लिने टुंगो लागेको छैन ।

मन्त्री यादवका अनुसार मुख्यमन्त्री आदित्यनाथ आउने टुंगो लागेपनि कुन कुन कार्यक्रममा सहभागी हुने भने अझै टुंगिएको छैन । दुई दिनपछि मात्र उनी सहभागी हुने कार्यक्रमबारे टुंगो लाग्ने उनको भनाइ छ । उनले स्टेडियमको शिलान्यास गर्ने विषयमा पनि छलफल मात्र भइरहेको बताए । भने, ‘रेल उद्घाटन र स्टेडियम शिलान्यस कार्यक्रमको टुंगो अझै लाग्न सकेको छैन । तर सम्भावना भने छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले आगामी तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न अन्तराष्ट्रिय स्टेडियम लक्ष्य राखेको छ । स्टेडियम निर्माणका लागि ६ अर्बदेखि १० अर्बसम्म खर्च हुने अनुमान गरिएको छ । जसमध्ये राखेपले ७ करोड दिएको मन्त्री यादवले बताए । उनले केही रकम प्रदेश सरकारले दिने र घटेपछि दातासँग सहयोग माग्ने पनि जानकारी दिए । स्टेडियम लक्ष्मण मन्दिरको १६ विघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको हो ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्