Logo
२२ बैशाख २०८१, शनिबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हास्यकलाकार तथा समाजसेवी धुर्मुसको आज जन्मदिन, कति बर्षका भए उनि ?

काठमाडौं : लोकप्रिय कलाकार सीताराम कट्टेल धुर्मुसको आज जन्मदिन । २०४० असार ४ गते सोलुखुम्बुको नेचा बेतघारी गाविसमा उनको जन्म भएको हो । उनी आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन् । उनी आठ वर्षको छँदै कट्टेल परिवार झापा झरेको थियो । माध्यमिक तहसम्मको अध्ययन धुर्मुसले झापाको गौरादहमा पूरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापीकलमको जोहो गर्न उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउँथे । कट्टेलले एसएलसी प्रथम श्रेणीमा पास गरे ।

उच्च शिक्षाका लागि उनी १७ सय रुपैयाँ गोजीमा राखेर काठमाण्डौँ छिरे । बुवाले ऋण खोजेर दिएको पैसा सकिपछि काठमाडौँ आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरूलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केही समयपछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । काठमाडौँदेखि हार मानेर झापा फर्किएका सीताराम फेरि संघर्षसँग जुध्न राजधानी आए । तर, त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

आज सीताराम कट्टेल देशका लोकप्रिय र चर्चित कलाकारका रूपमा स्थापित भएका छन् । सन्तोष पन्तको ‘हिजोआजका कुरा’ मा छोटो संवाद बोल्ने मौका पाएका उनलाई औपचारिक रुपमा हाँस्यकलाकार जितु नेपालले कलाकारितामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमिरे (माग्ने बुढा) लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दीपकराज गिरीसँगको चिनजानका कारण तीतो सत्यको १४ भागसम्म अभिनय गरे । पछि केदार घिमिरेसँग मिलेर मेरी बास्सै हाँस्य टेलिशृंखला बनाए ।

मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमिकामा देखिएका कलाकार हुन् । मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सीताराम कट्टेल सहभागी छन् । ६ एकान ६, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए ।

वैशाख १२ को गोरखा भूकम्पपश्चात धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् । भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् । अहिले धुर्मुस सुन्तली क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्