Logo
२७ बैशाख २०८१, बिहीबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माण अघि बढेन

ललितपुर : पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।

भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको छ । उहाँले भन्नुभयो, “कसले पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लागेपछि मात्र काम अघि बढ्छ ।”

सो क्षेत्रमा भूकम्प अघि काठमाडौँ उपत्यका विकास कोषले स्मारक पुनःनिर्माणको काम गर्दै आएको थियो । भूकम्पपछि कतिपय स्मारक सरकार आफैँले पुनःनिर्माण थालेको छ । ठेकेदारको ढिलाइ तथा कतिपय ठेकेदार सम्पर्कमा नआउँदा पुनःनिर्माणको तीव्ररूपमा अघि बढ्न सकेको छैन । कोषले भने काम समयमा नै गर्न सक्ने प्याकुरेलको दावी छ । “कानूनी प्रावधानका कारण कोषलाई कामको जिम्मेवारी दिन सकिएको छैन,” उहाँले भन्नुभयो । सरकारले पुनःनिर्माणका लागि गैरसरकारी संस्थालाई रु ६० लाखभन्दा बढी रकम दिन नमिल्ने नियम छ ।

काठमाडौँको हनुमान दरबार र ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न नेपालस्थित जापानी दूतावासले गत वर्ष नेपाल सरकारसँग सम्झौता गरेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न स्मारकमध्ये देगु तलेजु महत्वपूर्ण मानिन्छ । मल्लकालमा राजा सिद्धिनरसिंह मल्लले उक्त मन्दिर बनाउन लगाएको इतिहास छ ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्