Logo
७ जेष्ठ २०८१, सोमबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी सातासम्मै वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले काठमाडौंमा अहिले घाम लागे पनि दिउँसो फेरि बादल लाग्ने र पानी पर्ने बताइन् । ‘भोलि पनि बादल लाग्छ, तर वर्षाको सम्भावना कम छ । पर्सि शनिबारदेखि फेरि पानी पर्ने क्रम बढ्छ,’ उनले भनिन्, ‘जुन महिना नजिकिँदै छ, त्यसैले अब यस्तो हुनु सामान्य हो ।’

उनका अनुसार पहाडी भागमा बढी पानी पर्ने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात पनि हुने सम्भावना रहेको बताइन् ।

महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज दिउँसो नेपालको पूर्वी भागमा पानी पर्ने सम्भावना छ । भोलि शुक्रबार पूर्वी भागमा आंशिक बदली हुने र दिउँसो पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने अधिक वर्षाको सम्भावना रहेको पोखरेलको प्रक्षेपण छ ।

पानी पार्ने प्रणाली अहिले मधेश प्रदेश माथिको आकाशतिर केन्द्रित भइरहेको छ । त्यसैले मधेश प्रदेशका जिल्लाहरुमा पनि वर्षाको सम्भावना छ ।

अहिले प्रिमनसुन अवधि चलिरहेकाले हावाहुरी, चट्याङ र वर्षा हुने गर्दछ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत चौबिस घण्टामा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्