Logo
७ जेष्ठ २०८१, सोमबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोफल आईबीटी अंक अष्ट्रेलियाली भिसाका लागि मान्य हुने

२६ वैशाख, काठमाडौं । अब सबै अष्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने भएको छ ।

ईटीएसले बुधबार एक विज्ञप्ति जारी गर्दै ५ मे, २०२४ देखि टोफल आईबीटी अंक सबै प्रकारका अष्ट्रेलियाली भिसाका लागि मान्य हुने जानकारी दिएको छ ।

ईबीएसले विश्वव्यापी रूपमा टोफल परीक्षा सञ्चालन गर्दै आएको छ । योसँगै अष्ट्रेलियामा अध्ययन र काम गर्नुका साथै बसाइँ सर्न चाहनेहरूलाई थप सहज हुनेछ ।

टोफल आईबीटीलाई अष्ट्रेलियाका शतप्रतिशत विश्वविद्यालयहरूले स्वीकार गरेकाले अब टोफल आईबीटी अंकको आधारमा अष्ट्रेलियाली भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ ।

ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनका अनुसार अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेसँगै अष्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षणको लागि टोफल आईबीटी अंकलाई मान्यता दिने भएको हो । ‘टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अष्ट्रेलियामा शैक्षिक अवसरहरू खोज्ने विद्यार्थी तथा दक्ष कामदारहरुलार्य विश्वमा सबैभन्दा व्यापक रुपमा स्वीकृत अंग्रेजी परीक्षण प्रणाली टोफल आईबीटीमार्फत सहयोग गर्नेछ,’ उनले भनेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईले अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद खबर भएको बताए । ‘मलाई लाग्छ यो स्वीकृतिले नेपाली विद्यार्थीको अष्ट्रेलियामा अध्ययन गर्ने पहुँच मात्र बढाउँदैन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अष्ट्रेलियाको प्रतिबद्धतालाई पनि आत्मसात गर्छ,’ उनले भने ।

टोफल आईबीटीको विश्वव्यापी मान्यता र विश्वसनीयताले विश्वभरका विद्यार्थी र पेसाकर्मीहरूका लागि अंग्रेजी परीक्षणको भरपर्दो उपायका रूपमा यसको महत्वलाई अझ बलियो बनाउने उनको भनाइ छ ।

इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आईरीन)का अध्यक्ष हेमन्त भट्टराईले भिसा उद्देश्यका लागि अष्ट्रेलियाले टोफल आईबीटीलाई मान्यता दिंदा विदेशमा अवसर खोज्ने नेपाली विद्यार्थीले थप सहज महसुस गर्ने बताए ।

‘यसले नेपाली विद्यार्थी र दक्ष कामदारहरूका लागि विश्वमा सबैभन्दा बढी स्वीकृती प्राप्त अङ्ग्रेजी परीक्षा टोफल आईबीटी दिएर अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने ढोका खोल्छ,’ उनले भने ।

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्