Logo
१९ बैशाख २०८१, बुधबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई एसियाली खेलकुदको पाराग्लाइडिङमा पदक

काठमाडौं : १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो । जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।

नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो । मंगलबार भएको चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा पुगेपछि पदक लगभग पक्का भएको थियो ।

स्वर्णकै सम्भावना रहेको भए पनि अन्तिम चरणको खेलमा पनि जापानभन्दा पछि रहेपछि नेपालले रजत पदक जितेको हो ।प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्