Logo
१९ बैशाख २०८१, बुधबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आकाशमा जहाज उडाइरहेको बेलामा पाइलटबीच हानाहान

इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको छ । आकाशमा ३७ हजार फिटमाथि जहाज उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेको आरोपमा ती दुई पाइलट निलम्बनमा परेका हुन् ।

समाचार अनुसार १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी पिटापिटमै उत्रिएका हुन् ।

उक्त घटनाको अनुसन्धानका क्रममा विमानका सह–पाइलटले इराकी वायुमार्ग प्राधिकरणलाई पत्र लेख्दै उक्त विमानका पाइलटले एयर होस्टेजलाई आफ्नो लागि खाना ल्याउनबाट रोकेको दाबी गरेका छन् । आफुसँग अनुमति नलिइकन ककपिटमा खानेकुरा ल्याउन नपाइने भन्दै पाइलटले इयरहोस्टेजलाई रोकेको उनको भनाइ छ ।

आफूमाथि पाइलटले दुईपटक हातपात गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरेको को–पाइलटको दाबी छ । आपसमा झगडा गरेपछि चालकहरुले विमानलाई सुरक्षित रुपमा वगदादमा अवतरण गराए । तर विमान अवतरण भैसकेपछि पनि उनीहरु आपसमा झगडा गर्दै थिए ।

इराकी एयरवेजले घटनाको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको र निलम्बित दुवै पाइलटमाथि छानविन चलिरहेको बताइएको छ । दोषी ठहर भएमा दुवै जनालाई आजीवन हवाई उडान प्रतिबन्ध समेत हुनसक्ने समाचारमा उल्लेख छ ।

एजेन्सी

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्