Logo
११ बैशाख २०८१, मंगलबार
(May 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सात वर्षका फेसन डिजाइनर : भन्छन्, ‘पूर्व जन्ममा म गुची थिएँ’

७ वर्षका म्याक्स एलेक्जेन्डरले चार वर्ष उमेरदेखि नै ड्रेस डिजाइन गर्न थालेका हुन् । उनी पूर्व जन्ममा आफू प्रतिष्ठित इटालियन डिजाइनर गुचियो गुची भएको दाबी गर्छन् ।

सात वर्षमा धेरै बालबालिकालाई गुची को हुन् भन्ने पनि थाहा हुँदैन तर अमेरिकाका म्याक्स एलेक्जेन्डरलाई चर्चित फेसन डिजाइनरबारे जानकारी मात्रै छैन उनी आफ्नो पूर्व जन्ममा गुची नै भएको दाबीसमेत गर्छन् ।

म्याक्सकी आमा म्याडिसनले आफ्नो छोराले सन् २०२१ को एक साँझ खाना खाइरहेका बेला आफूलाई महिलाको फेसनप्रति अत्यधिक रुचि भएको बताएको जानकारी दिइन् ।

उनले आफ्नो सिर्जनालाई प्रस्तुत गर्नका लागि म्यानेक्विन चाहिएको पनि बताए । म्याडिसनले कार्डबोर्डले एउटा म्यानेक्विन बनाइदिइन् त्यसमा उनले आफ्नो अद्भुत क्षमता प्रस्तुत गरे । अन्य बालबालिकाले कखग, एबीसीडी पढ्ने उमेरमा म्याक्स फेसन डिजाइनरको रूपमा उदाएका छन् । उनको ग्राहकमा अमेरिकी नायिका स्यारोन स्टोन पनि समावेश छिन् ।

‘मलाई यसबारे थाहा थिएन, छोरा आफैँले भनेको हो । हामी लकडाउन ताका बेलुकाको खाना खाइरहेका थियौँ । त्यतिबेला नै उनले हामीलाई यसबारे बताएका हुन् । उनले ‘मलाई म्यानेक्विन चाहियो’ भनेका थिए ।’ म्याडिसन एलेक्जेन्डरले स्मरण गरिन् । ‘यो कुरा बताइराख्दा उनी निकै गम्भीर थिए । अनुहारमा कुनै हाँसो थिएन । मैले उनलाई भने, ‘ठिक छ, तिमीलाई फेसनमा रुचि छ भन्ने कुरा मलाई थाहा नै थिएनँ ।’ त्यसपछि उनले जवाफ दिए, ‘मसँग म्यानेक्विन थिएन नि त त्यसैले तपाईंलाई थाहा भएन । तपाईंले मलाई म्यानेक्विन ल्याइदिनुभयो भने, म देखाउन सक्छु । म ड्रेस मेकर हुँ ।’

‘उनले ड्रेस बनाउन थाले । यो मेरा लागि निकै अचम्मको कुरा थियो,’ उनकी आमाले पिपल म्यागेजिनलाई भनिन् । ‘म हतारिँदै मेरो श्रीमान् भए ठाउँ पुगेँ र चिच्याउँदै भनेँ, ‘अफिसबाट निस्किहाल, म्याक्सले यस्तो कुरा गरिरहेको छ, त्यो देख्दा तिमी चकित पर्नेछौ ।’

अर्को अचम्मको कुरा के हो भने म्याक्स यसअघि महिलाको फेसनसँग परिचित नै थिएनन् । उनले एक्कासि ड्रेस बनाउन थाले । उनले आफैँ सिलाउन सिके, कपडाको पहिचान गर्न सिके । उनको अभिभावक आफ्नो छोराको जिनमा नै फेसन भएको विश्वास गर्छन् किनभने उनका हजुरबुवा–हजुरआमाले मोन्ट्रियलमा फेसन व्यवसाय चलाउने गर्थे । तर म्याक्सलाई यसबारे केही पनि थाहा थिएन ।

म्याक्सले केही हप्ताका लागि आफ्नी आमाले कसरी लुगा सिलाउँछिन् भनेर हेरे, त्यसपछि उनी आफैँले लुगा सिउन थाले । उनले आमाले भन्दा राम्रो तरिकाले लुगा सिउन सिके । सुरुमा उनका आमाबुवालाई आफ्नो छोराको फेसनप्रति रुचि केही दिनको लहड जस्तो मात्रै लागेको थियो तर उनी पछिल्लो तीन वर्षदेखि यसमा दत्तचित्त भएर लागी परेका छन् । उनको रुचि यसप्रति दिन प्रतिदिन बढ्दै गयो ।

‘यति सानो उमेरको बच्चामा फेसन प्रति यत्तिको लगाव र समर्पण देखेर म असाध्यै प्रभावित छु । उनले आफ्नो यो इच्छाबारे उनी चार वर्षको हुँदा जानकारी दिएका थिए ।’

सात वर्षका डिजाइनरले आफ्नो यो अद्भुत क्षमताको व्याख्या निकै रोचक तरिकाले दिने गर्छन् । उनले पिपल म्यागेजिनसँगको कुराकानीमा आफू पूर्व जन्ममा गुचियो गुची भएको बताएका छन् । उनकी आमाले भन्छिन्, ‘मेरो छोराको गुची फेसन हाउसको प्रमुख बन्ने ठुलो सपना छ । कदाचित यो पुरा हुन नसके उनले आफ्नै स्टुडियो चलाउने पनि योजना बनाएका छन् । ’

 

प्रकाशित मिति: May 24, 2023

प्रतिक्रिया दिनुहोस्