Logo
१९ बैशाख २०८१, बुधबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुकुरको मृत्युपछि इटालीका लाखौं मानिस दुखी , लाखौंले दिए श्रद्धाञ्जली

 काठमाडौं : एक कुकुरको मृत्युपछि इटालीका लाखौं मानिस दुखी बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमा उसको तस्वीर र यादहरु सेयर गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

कुकुरका मालिकले फेसबुकमा आफ्नो जर्मन सेर्फड कुकुर काओसको मृत्यु भएको घोषणा गरेपछि लाखौं मानिसले कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

शनिबार हराएको कुकुर राति आफ्नो बगैंचामा मृत फेला परेको र उसको मृत्यु विषका कारणले भएको कुकुरका मालिक इटोरले बताएका छन् ।

‘मसँग कुनै शब्द छैन,’ इटोरले भने, ‘मैले यस्तो निन्दनीय कार्य किन गरियो भनेर बुझ्न सकेको छैन । उ बिहान दुई बजेसम्म जिवितै थियो र भुकिरहेको थियो ।’

कुकुरका मालिक फाबियानो इटोरको फेसबुक पोस्टलाई करीब ६६ हजार मानिसहरुले सेयर गरेर उसलाई श्रद्धाञ्जली दिएका छन् । ट्वीटरमा पनि ५० हजार भन्दा धेरैले ‘नायक कुकुर’को सम्झनामा ट्वीट गरेका छन् ।

इटालीको ‘नायक कुकुर’

सन् २०१५ मा जन्मिएको काओस इटोरको साथमा मध्य इटालीमा बस्ने गर्थ्यो ।

उसले सन् २०१६ को अगस्तमा इटालीमा गएको शक्तिशाली भूकम्पको समयमा अमातराइस शहरमा धेरै मानिसहरुको ज्यान बचाउन सहयोग गरेको थियो । उक्त प्राकृतिक विपत्तिमा धेरै सङ्ख्यामा मानिसहरु मारिएका थिए र कयौं भवनहरु ढलेका थिए । काओसले ढलेका भवनभित्र पुरिएका मानिसहरुलाई खोजेर धेरैको ज्यान बचाएको थियो ।

यसपछि इटालीका मानिसहरुले उसलाई ‘हिरो डग’ नाम दिएका थिए । उसले सन् २०१६ कै अक्टोबरमा गएको अर्को भूकम्पमा पनि नोर्सिया शहमा उद्धारकार्यमा संलग्न भएर धेरैको ज्यान बचाउन सहयोग गरेको थियो ।

गत शनिबार कुकुर हराएपछि पनि इटोरले फेसबुकमा आफ्नो कुकुर हराएको कुरा पोस्ट गरेका थिए । केही घन्टापछि नै इटोरले काओसको मृत्यु भएको घोषणा गरेका थिए ।

पशु अधिकारकर्मीहरुले उसको हत्यारालाई खतरनाक अपराधीको संज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । एनिमलिस्ट इटालियानीका प्रवक्ता रिनाल्डो सिडोलीले भनेका छन्, ‘उनीहरुले देशको नायकलाई मारेका छन्, उद्धारकर्ताहरुसँग मिलेर उसले चार घन्टासम्म आफ्नो पञ्जाले खोतलिरहृयो र धेरै मानिसको सकुशल उद्दार गरेको थियो ।’

त्यस्तै राजनीतिज्ञ इलारिया फोन्टानाले लेखेका छन्, ‘हामीले दोषीलाई पत्ता लगाएर कारबाही गर्नेछौं । यो अस्विकार्य छ र ती मानिस जसले पशुको सम्मान गर्दैनन् उनीहरु दण्डित हुनैपर्छ ।’

इटोरले भावुक भएर लेखेका छन्, ‘त्यहाँ पनि आफ्नो काम जारी राख्नु, जो मानिसहरु हराएका छन् उनीहरुलाई खोजिरहनु र जिन्दगी बचाइहरनु ।’

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्