Logo
६ जेष्ठ २०८१, आईतबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा र फोरमको सहमति सकारात्मक, तर सरकारमा जाने भर्याङ्ग मात्र नबनोस् : महतो

काठमाडौं, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको दुईबुँदे सहमतिबारे विभिन्न टिकाटिप्पणी भइरहँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सकारात्मक रहेको बताएका छन् ।

उनले फोरम नेपालले नेकपासँग संविधान संशोधनका लागि गरेको सहमति सकारात्मक भए तापनि सहमति सरकारमा जाने भर्याङ्गको रुपमा मात्र प्रयोग नहोस् भन्ने आशंका व्यक्त गरेका छन् ।

मधेशवाणी रेडियो कार्यक्रममा मंगलबार कुरा गर्दै महतोले भने, ‘यस्ता सम्झौता विगतमा हामीले धेरै गरिसक्यौं, कतिपय माग पूरा भए भने अधिकांश माग पूरा हुन बाँकी छ । त्यसैले, यो सहमति कार्यान्वयन गराउन फोरम अध्यक्ष उपेन्द्र यादवजी सचेत रहनुपर्छ ।’

‘यो संशोधनका लागि सयौं मधेशीले सहादत प्राप्त गरे, हजारौं अंगभंग भए, सयौं मधेशीमाथि झुठा मुद्दा लागि हिरासतमा छन्, अर्बौंको धनमाल क्षति भयो । त्यसैले फोरमसँग भएको सहमति सकारात्मक छ,’ उनले थपे, ‘फोरमसँगको यो सहमतिले संविधान संशोधन र आन्दोलन दुवैका लागि बाटो खुला गरेको छ ।’

उनले फोरमले सरकारमा सहभागी भएर संविधान संशोधन गराउन सकेन भने जनताले फोरमका विरुद्धमा पनि आन्दोलन गर्ने दाबी गरेका छन् ।

उनले नेकपासँग गरेको सहमतिको आधारमा संविधान संशोधनका लागि आफूहरुले बाहिरबाट दबाब दिने र फोरमले सरकारमा भएर मधेशको हितमा संशोधन विधेयक बनाउनुपर्ने जिकिर गरे ।

सरकारले आन्दोलनकारी शक्तिबीच फुट ल्याउने कोशिस गरेको आरोप लगाउँदै भने, ‘सत्तापक्षले जहिले पनि डिभाइड ए रुल अर्थात फुटाउ र शासन गरको नीति अपनाउँदै आएको छ । तर, हामीबीचको सम्बन्धमा कुनै किसिमको तित्तता आएको छैन ।’

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्