Logo
२ जेष्ठ २०८१, बुधबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक संरचना पर्याप्त नभएको भन्दै भालेश्वर माविले थप विद्यार्थी भर्ना नलिने

बनेपा: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ मल्पीमा रहेको भालेश्वर माध्यमिक विद्यालयले भौतिक संरचना पर्याप्त नभएको भन्दै अब विद्यार्थी भर्ना गर्न नसकिने जनाएको छ ।

विद्यालय प्रशासनले भौतिक संरचना अभावका कारण विद्यार्थी नअट्ने र जग्गा पनि पर्याप्त नभएका कारण विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले बताए । यसै शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म १२१ जना नयाँ विद्यार्थी भर्ना भएको उक्त विद्यालयले कक्षा ६, ७ र ९ मा थप विद्यार्थी भर्ना गर्न नसक्ने भएको छ  ।प्रधानाध्यापक थापाले भने, “साँघुरो विद्यालय हाताका कारण थप भवन निर्माण गर्ने ठाउँसमेत अभाव रहेको छ ।

विद्यालय बससमेत सञ्चालन गर्दै आएको सो विद्यालयले कक्षा ६ देखि ९ सम्म भर्ना बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ । पनौती नगरपालिकाका शिक्षा प्रमुख महेश्वर जंगमले नगरले शिक्षा ऐन बनाएर शिक्षण संस्थालाई एकरुपतामा ल्याउने काम भइरहेको बताए । त्यस क्रममा शिक्षण सिकाइ र शिक्षकलाई समयमा नै विद्यालयमा उपस्थित गराउनका लागि नगरभित्रका १२ वटा विद्यालयमा विद्युतीय हाजिरी गर्ने काम भइसकेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले विद्यालयलाई जिल्लाको उत्कृष्ट र व्यवस्थित विद्यालय बनाउने उद्देश्यले विगत पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समिति र शिक्षकका छोराछोरीलाई आफ्नै विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने व्यवस्था गरिएको बताए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बञ्जाराले विद्यालयको व्यवस्थापकीय र शिक्षण सिकाइको राम्रो वातावरण भएका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको बताए ।

अहिले सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षासम्म ४०९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयमा कलाँती भूमेडाँडाको गागल, खोपासी, पनौती, सुन्थान, मल्पी र बञ्जारागाउँलगायतका ठाउँबाट विद्यार्थी पढ्न जाने गरेका छन् ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्