Logo
२४ बैशाख २०८१, सोमबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालू आर्थिक वर्षको नौ महिनामा चितवनको पूँजीगत खर्च ३८ प्रतिशत

चितवन : चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७।७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको नौ महिनामा रु दुई अर्ब नौ करोड ३८ लाख २४ हजार खर्च भएको छ । गत आवको यसै अवधिमा रु एक अर्ब ५८ करोड १४ लाख ४३ हजार खर्च भएको थियो ।

यसवर्ष सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनामा मात्रै रु ८५ करोड ५४ लाख ४२ हजार खर्च भएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भरतपुरका रु ४३ करोड ७८ लाख ६१ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु २२ करोड ६० लाख ४८ हजार र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रु १५ करोड १० लाख नौ हजार खर्च भएको छ । अन्य कार्यालयको खर्च न्यून रहेको उनले बताए ।

यसैगरी चालू आवको नौ महिनामा चालू खर्चतर्फ ६८।८५ प्रतिशत खर्च भएको छ । यस अवधिमा रु छ अर्ब ७५ करोड ९८ लाख ६४ हजार चालू खर्च भएको हो । गत आवको यसै अवधिमा ५१।६४ प्रतिशत चालू खर्च भएको थियो । यो अवधिमा रु चार अर्ब ९८ करोड ७५ लाख १२ हजार खर्च भएको थियो ।

स्थानीय तह गठनपछि केन्द्रीय योजनाबाहेकको खर्च स्थानीय तहबाट नै हुने भएकाले कोलेनिकामा यो बजेट आउँदैन ।यस वर्ष पूँजीगत खर्चतर्फ कोलेनिकामार्फत हालसम्म रु पाँच अर्ब ५६ करोड ६६ लाख ५३ हजार निकासा भइसकेको छ । गत वर्ष रु पाँच अर्ब ७७ करोड ८४ लाख १२ हजार निकासा भएको थियो । पूँजीगत खर्च रकमान्तर भई अन्यत्रबाट पनि असारसम्म आउने हुँदा रकम बढ्न सक्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्