Logo
१५ चैत्र २०८०, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने : मन्त्री पोखरेल

वीरगञ्ज : सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विहिबार वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गरे ।

उनका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दिनेशकुमार श्रेष्ठले भने पर्सामा २१ हजार ५१४ जना आधारभूत तहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी गराए ।

सो अवसरमा मन्त्री पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने बताउँदै विहिबारसम्म सात प्रतिशत मात्रै प्राविधिक शिक्षा पढाइ हुँदै आएकामा अब सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा प्रदान गर्ने तयारी भएको जानकारी दिए ।

उहाँले २०२८ सालको शिक्षा नीतिलाई चाँडै अन्त्य गरेर नयाँ नीति ल्याइने बताउँदै बालबालिकाको जीवन देशको जीवनसँग जोडिएकाले लापरबाही नगर्न शिक्षकलाई चेतावनी दिनुभयो । प्रदेश नं २ को सिरहाबाट भर्ना अभियान शुरु गर्दै मन्त्री पोखरेल सप्तरी, धनुषा हुँदै पर्सा आएका हुन । उनले प्रदेश नं २ का सबै जिल्लामा पुगेर भर्ना अभियान शुरु गर्ने लक्ष्य लिइएको बताए ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्